सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि ट्रायल पास गरेर पर्खाइमा बसेकाहरूले अब छिट्टै पाउने भएका छन्।
फ्रान्सबाट १४ लाख थान स्मार्टकार्ड ल्याउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले जानकारी दिए।
‘सबै प्रक्रिया पुरा भइसक्यो, अब एक महिनाभित्र आइपुग्छ,’ उनले भने, ‘यसले यो आर्थिक वर्षलाई पुग्छ। अर्को वर्षलाई सुरूमै कन्ट्रयाक गर्छौं।’
स्मार्टकार्डको मौज्दात सकिँदै गएपछि विभागले करिब ४/५ महिनादेखि कार्ड छापेको थिएन। हाल विदेश जानेका लागि मात्र विभागले अत्यावश्यक स्मार्ट कार्ड छाप्दै आएको थियो।
हाल नयाँ र नवीकरण गरी ७ लाख कार्ड छाप्न बाँकी रहेको विभागका प्रवक्ता भुषालले बताए।
कार्ड ल्याउन खरिद प्रक्रिया लामो र कोभिड महामारीका कारण समस्या उत्पन्न भएको उनको भनाइ छ।
विदेशीबाट कार्ड ल्याउन समय लाग्ने भएकाले स्वदेशकै कम्पनीले कार्ड छाप्न सक्छन् कि भन्नेबारे अध्ययन भइरहेको विभागले जनाएको छ। विभागले कहिले कार्ड छाप्ने मास प्रिन्टर बिग्रेर त कहिले छाप्ने कार्ड सकिएर विभिन्न आलोचना खेप्दै आएको छ।
आवश्यकता अनुसार स्मार्टकार्ड वितरण गर्न नसकेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्मार्टकार्डको विकल्प खोज्न थालेको छ।
‘छलफलमा केहीले स्मार्टकार्ड किन चाहियो क्युआर कोडबाटै पनि हेर्न सकिन्छ भन्दै छन्,’ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भने, ‘अहिले तुरून्तै खारेज गर्ने भनेका त होइनौं। विकल्प के हुनसक्छ भनेर छलफल मात्रै भएको हो।’
अहिले विभागले ट्रायल पास गरेकालाई परीक्षणकालीन स्मार्टकार्ड वितरण गरिरहेको छ।