बजारमा यतिबेला म्याक्सी स्कुटरले विशेष चर्चा पाएको छ। यसैबीच यामाहाको नयाँ म्याक्सी स्कुटर सार्वजनिक भएको छ। कम्पनीले बुधबार भारतीय बजारको लागि नयाँ एरोक्स १५५ सार्वजनिक गरेको हो। नयाँ एरोक्स १५५ ग्रे र निलो गरी दुई रंगमा उपलब्ध हुनेछ।
स्कुटरमा १५५ सिसी ब्लु कोर, सिंगल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन जडित छ। जसले अधिकतम ८,००० आरपिएममा १५ पिएस पावर र ६,५०० आरपिएममा १३.९ एनएमको टर्क जेनेरेट गर्छ।
इन्जिनमा नयाँ सिलिन्डर हेड र कम्प्याक्ट कम्बस्टन च्याम्बर दिइएको छ। स्कुटरमा लिक्विड कुल्ड प्रविधि छ। त्यस्तै यसमा स्मार्ट मोटर जेनेरेटर प्रविधि पनि छ। जसले शान्त शैलीमा इन्जिन स्टार्ट र बन्द गर्न मद्दत पुर्याउछ।
एरोक्स १५५ को बाहिरी आवरण निकै स्पोर्टी छ। यसमा १४ इन्चको टायर पाउन सकिन्छ। यसमा एबिएससहितको ब्रेकिङ प्रविधि छ। स्कुटरको अगाडि टेलिस्कोपिक सक अब्जर्बर र पछाडि डुअल स्प्रिङ सस्पेन्सन पाउन सकिन्छ।
स्कुटरमा ५.८ इन्चको लिक्विड क्रिस्टल डिस्प्ले छ। स्कुटरमा यामाहाको मोटरसाइकल कनेक्ट एप पनि चलाउन सकिन्छ। एरोक्स १५५ मा पूरै एलइडी लाइट पाउन सकिन्छ।
स्कुटरमा २४.५ लिटरको ढिकी छ। त्यस्तै चालकको सहजताको लागि पर्याप्त खुट्टा राख्ने ठाउँ र सिट छ। यसमा ५.५ लिटरको इन्धन क्षमता छ। यो भनेको सामान्य स्कुटरमा भन्दा बढी ढिकी र इन्धन क्षमता हो।
कम्पनीले नयाँ एरोक्स १५५ म्याक्सी स्कुटरको सुरुवाती मूल्य भारु १ लाख २९ हजार तोकेको छ।