टाटाको नयाँ एसयुभी पन्च सार्वजनिक हुने भएको छ। कम्पनीले भारतीय बजारको लागि नयाँ पन्च असोज १८ गते सार्वजनिक गर्ने भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।
चाडपर्व समयमा सार्वजनिक हुन लागेको नयाँ टाटा पन्च एक माइक्रो एसयुभी हो। जुन तुलनात्मक रुपमा सस्तो हुने अनुमान लगाइएको छ। यसले बजारमा भएको मारुती सुजुकी इग्निस र नयाँ सार्वजनिक हुन लागेको सिट्रोन सि३ सँग प्रतिस्पर्धा गर्नेछ।
नयाँ पन्चमा ड्राइभ विशेषतालाई बढावा दिन धेरै ड्राइभिङ मोडहरू हुनेछ। र, सम्भवतः सुरक्षाको हिसाबमा बढी विशेषताहरू हुनेछन्।
पाँच सिटर यो एसयुभीमा १.२ लिटर पेट्रोल इन्जिन हुने अनुमान लगाइएको छ। त्यस्तै यो टर्बोचार्ज विकल्पमा पनि उपलब्ध हुनेछ। उक्त इन्जिन पाँच–स्पीड म्यानुअल गियर बक्स र अटोमेटिक गियरबक्समा उपलब्ध हुनेछ। यसले अधिकतम ८६ पिएस पावर र ११३ एनएमको टर्क जेनेरेट गर्छ।
गाडीको पूर्ण बनावट टाटाका अन्य गाडीबाट प्रेरित छन्। जसमध्ये टाटा अल्ट्रोज, नेक्सन, ह्यारिअर र सफारी पनि पर्छ।
गाडीको बाहिरी आवरण बोल्ड छ। यसमा ह्यारिअर गाडीमा भएजस्तै एलइडी डिआरएल हुनेछ। यसको अगाडि भागमा फराकिलो बोनेट र ग्रिल डिजाइन हुनेछ जसले गाडीलाई स्पोर्टी लुक्स प्रदान गर्नेछ। यसको कुल लम्बाई ३,८४० एमएम, चौढाई १,८२२ एमएम र उचाई १,६३५ एमएमको छ। गाडीको ह्विलबेस २,४५० एमएमको छ।
यसको भित्री आवरण पनि आकर्षक हुने अनुमान लगाइएको छ। यसमा डुअल टोनको इन्टेरिअर थिम हुने सम्भावना बढी छ। यसको टचस्क्रिन इन्फोटेनमेन्ट पनि ठूलो हुनेछ भने यसमा डिजिटल–एनलग इन्स्ट्रुमेन्ट क्लस्टर हुनेछ।
यसबाहेक गाडीको अन्य विशेषता र मूल्यबारे कम्पनीले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन। यद्यपि गाडी चाडपर्व अवसरमा सार्वजनिक गर्ने हुँदा बजारमा यसले राम्रो प्रतिक्रिया पाउनेमा कम्पनी सकारात्मक छ।