टिभिएसको नयाँ बाइक सार्वजनिक भएसँगै कम्पनी यतिबेला नयाँ स्कुटर सार्वजनिक गर्ने तयारीमा छ।
कम्पनीले गत साता मात्रै भारतीय बजारमा रेडर १२५ सार्वजनिक गरेको थियो। योसँगै कम्पनीले यही असोज २१ गते नयाँ स्कुटर सार्वजनिक हुने संकेत दिएको छ।
कम्पनीले नयाँ सार्वजनिक दुई पाङ्ग्रेको लागि 'कम एक्पेरियन्स द मोर' भन्दै ट्यागलाइन दिएको छ। अर्थात् 'आउनुहोस् अझ धेरै अनुभव लिनुहोस्।' यसले नयाँ जुपिटर १२५ सार्वजनिक हुन लागेको संकेत दिएको भारतीय अखबारहरूले अनुमान लगाएको छ। कम्पनीले भने हालसम्म ट्यागलाइन मात्रै सार्वजनिक गरेको छ।
१२५ सिसीको नयाँ जुपिटर सार्वजनिक भएसँगै यसले बजारमा होन्डा एक्टिभा १२५, हिरो माएस्ट्रो एज १२५ र सुजुकी एक्सेस १२५ सँग प्रतिस्पर्धा गर्नेछ।
नयाँ जुपिटरमा कम्पनीले स्कुटरको पावर, टर्क र विशेषताहरू अपडेट गर्नेछ। यसमा एलइडी डिआरएल हुनेछ।
अनुमान लगाएअनुसार स्कुटरमा १२४.८ सिसीको डिस्प्लेसमेन्ट हुनेछ। यसमा सिंगल सिलिन्डर फ्युल इन्जेक्टेड मोटर हुनेछ। जसले ७,००० आरपिएममा ९.१ बिएचपी पावर र ५,५०० आरपिएममा १०.५ एनएमको टर्क जेनेरेट गर्छ। यसको इन्जिनसँगै सिभिटी गियर बक्स पनि हुनेछ।
त्यस्तै नयाँ जुपिटर १२५ मा डिजिटल स्क्रिन, बाहिरै फ्युल क्याप, शून्य आवाज स्टार्ट प्रविधि र टिभिएस कनेक्ट मोबाइल एपको विशेषता हुनेछ।
टिभिएस कनेक्ट मोबाइल एपमा न्याभिगेसन असिस्ट, टप स्पीड रेकर्डर, इन-बिल्ट ल्याप टाइमरजस्ता विशेषताहरू समावेश गरिएको हुन्छ।
यतिबेला टिभिएसलगायत अन्य दुई पाङ्ग्रे सवारी निर्माण कम्पनीहरू १२५ सिसीका स्कुटर निर्माण र सार्वजनिकमा जोड दिँदैछन्।
केही समयअघि मात्रै टिभिएस मोटर्सका संयुक्त प्रबन्ध निर्देशक सुदर्शन भेनुले भारतीय एजेन्सी पिटिआईसँग बोल्दै भनेका थिए, 'पछिल्लो ५ वर्षमा १२५ सिसीका स्कुटर निर्माण र बिक्री २० प्रतिशतले बढेको छ। हामी यो सेग्मेन्टमा थप नयाँ विशेषताहरू सहित स्कुटर उत्पादन र सार्वजनिक गर्नेमा प्रतिबद्धता जनाउँछौं।'
यतिबेला भारतसँगै नेपालमा पनि टिभिएसका स्कुटरहरूले निकै राम्रो बजार पाएको छ।