बजाजले भारतीय बजार लक्षित नयाँ बाइक सार्वजनिक गर्ने भएको छ। चाडपर्वविशेष बाइकको माग बढेसँगै कम्पनीले नयाँ बाइक सार्वजनिक गर्न लागेको हो। भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार कम्पनी यही नोभेम्बरमा नयाँ पल्सर २५० सार्वजनिक गर्ने तयारीमा छ।
नयाँ पल्सर २५० को बाहिरी आवरण निकै सानदार हुनेछ। यसमा अगाडि प्रोटेक्टर हेडल्याम्प, टेलिस्कोपिक फ्रन्ट फोर्क्स, अलोय ह्विल र पछाडि मोनोसक सस्पेन्सन हुनेछ। बाइकको डिजाइनसँगै कम्पनीले नयाँ पल्सर २५०मा सुरक्षाको लागि विशेष प्राथमिकता दिएको देखिन्छ।
बाइकमा २५० ओइल–कुल्ड सिलिन्डर इन्जिन हुने अनुमान लगाइएको छ। जसले २८ पिएस पावर र २० एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै यसमा ६ स्पीड गियर ट्रान्समिसन हुनेछ। कम्पनीले नयाँ पल्सर २५० को सम्पूर्ण विवरण र मूल्य खुलाएको छैन। तर यसको मूल्य भारु १ लाख ५० हजारदेखि सुरू हुने अनुमान लगाइएको छ।
नयाँ पल्सर २५० ले बजारमा भएको सुजुकी जिक्सर २५०, केटिएम २०० ड्युक र यामाहा एफजेड२५ सँग प्रतिस्पर्धा गर्नेछ।