रोल्स–रोयसले अबको एक दशकभित्र आफ्नो सम्पूर्ण उत्पादन विद्युतीकरण गर्ने भएको छ।
कम्पनीले सन् २०३० सम्ममा आफूले निर्माण गर्ने सबै गाडी विद्युतीय बनाउने भएको हो। यसको लागि रोल्स–रोयसले भोल्सवागन र ज्यागवार जस्ता प्रिमियम ब्रान्डसँग सहकार्य पनि गरेको छ। जसले सन् २०३० सम्ममा आफ्नो उत्पादनहरूलाई विद्युतीकरण गर्ने प्रतिबद्धता जनाएको छ।
रोल्स–रोयसले हालै मात्र नयाँ गाडी स्पेक्टरबारे सार्वजनिक गरेको छ। स्पेक्टर पुरै विद्युतीय गाडी हो र यो सन् २०२३ को अन्तिमतिर सार्वजनिक हुने रोयटर्सले जनाएको छ।
केहि समयअघि कम्पनीका सिइओ टोर्सटेन मुलर–ओटभोसले नयाँ स्पेक्टर सार्वजनिक गरेसँगै कम्पनीले सवारी विद्युतीकरणप्रति आफ्नो बलियो संकल्प देखाउने बताएका थिए।
‘यो नयाँ उत्पादनसँगै हामी सन् २०३० सम्ममा सम्पूर्ण उत्पादन विद्युतीकरण गर्नेप्रति सकारात्मक छौं। यसले हाम्रो पोर्टफोलियो पनि बद्लिनेछ’, उनले भनेका थिए।
योसँगै सिइओ टोर्सटेनले कम्पनीले भविष्यमा इन्टरनल कमबस्टन इन्जिन जडितको कुनै पनि सवारी साधन निर्माण नगर्ने बताए।
रोल्स–रोयसले आफ्नो उत्पादन सम्पूर्ण विद्युतीकरण गर्ने घोषणा गरेता पनि यसको प्यारेन्ट कम्पनी बिडब्लुएमले उक्त विषयमा कुनै चासो देखाएको छैन।
बिएमडब्लुले भविष्यमा कमबस्टन इन्जिन जडित सवारी सानध निर्माण रोक्ने विषयमा पनि केही बताएको छैन।
केही समयअघि भने कम्पनीका डेभलपमेन्ट प्रमुख फ्र्याङ्क वेभरले सवारी विद्युतीकरण गर्नु मात्रै मुख्य विषय नभएको तर यसको लागि साधारण जनता र देशको स्थिति कतिको तयार भएको भन्ने पनि चासो विषय हुने बताएका थिए।
यसअर्थ बिएमडब्लुले कम्बस्टन इन्जिन जडित गाडी निर्माण तथा उत्पादन कहिलेदेखि रोक्ने र सवारी साधन निर्माणमा विद्युतीकरण कहिलेबाट गर्ने भन्ने खुलाएको छैन।
बिएमडब्लु अन्तर्गतको रोल्स–रोयसले भने यो दशकको अन्तिमसम्ममा सम्पूर्ण सवारी निर्माण विद्युतीकरण गर्नेछ।