दसैंका लागि यही असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुला भइसकेको छ।
गोंगबु बसपार्कबाट छुट्ने बसहरूको टिकट सोमबारसम्म करिब ३० प्रतिशत बुकिङ भएको ल्होत्से बहुउद्देश्य प्रालिले जानकारी दिएको छ।
‘पूर्व र पश्चिम गरेर १९ हजार टिकट बुकिङ भएको छ। सामान्य अवस्थाको तुलनामा यो संख्या कम हो,’ ल्होत्सेका मानव संसाधन व्यवस्थापक पंकज मल्लले सेतोपाटीसँग भने।
कतिपय मानिसहरू कोभिड जोखिमका कारण गाउँमै गएर बसेकाले दसैंमा उपत्यकाबाट बाहिरिने यात्रुको चाप यसपालि कम भएको उनले बताए।
‘यतिबेला बसपार्कमा थेगिनसक्नु भिड हुन्थ्यो। तर यसपालि त्यस्तो धेरै भिडभाड छैन,’ उनले भने।
सामान्य अवस्थामा यो समयमा दसैं अग्रिम टिकट लगभग ९५ प्रतिशत बुकिङ भइसक्ने व्यवसायीहरू बताउँछन्। तर मंगलबार (आज) बिहानसम्म पनि बसपार्कका काउन्टरमा खासै भिडभाड देखिएको छैन।
वर्षा अझै कायमै रहेकाले बाटोघाटो अप्ठ्यारो हुँदा पनि टिकट बुकिङ कम भएको व्यवसायीहरूको अनुमान छ।
‘अहिले बाटोघाटो हिँडिसक्नु छैन। १२ घण्टामा पुगिने बाटो झण्डै दुई दिन लाग्न सक्छ,’ बसपार्कमा भेटिएका एक यातायात व्यवसायीले भने।
सानो संख्यामा भए पनि बुकिङ भने धमाधम भइरहेको छ। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पनि पहिलेको तुलनामा टिकट बुकिङ नभएको बताउँछ। यो कम्पनीले स्याङ्जा तथा गोरखा क्षेत्रका यात्रुलाई सेवा दिँदै आएको छ।
‘अहिलेसम्म केही उत्साह देखिएको छैन। अब २१ गतेदेखि चाप बढ्छ कि भन्ने आश हो,’ कम्पनीका कर्मचारी विनोद पौडेलले भने।
महाकाली यातायात प्रालिले पनि टिकट बुकिङमा चाप नभएको बताएको छ। अहिलेसम्मको बुकिङ अवस्था हेर्दा अरू गाडी थप गर्नुपर्ने अवस्था नरहेको कम्पनीको भनाइ छ।
लिला कर्णाली यातायात प्रालिले भने ९५ प्रतिशत टिकट बुकिङ भइसकेको जानकारी दिएको छ। यो कम्पनीले विशेष गरी जुम्ला र कालीकोट जाने यात्रुलाई सेवा दिँदै आएको छ।
सुन्दर सूदुरपश्चिम यातायात प्रालिले पनि २६ गतेसम्मको टिकट बुकिङ भइसकेको जानकारी दिएको छ। उक्त मितिसम्म धनगढी, टिकापुर, बझाङ, बाजुरा लगायत स्थान जाने यात्रुका लागि टिकट बुकिङ सकिएको कम्पनीको भनाइ छ।
नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका ३१ वटा डिजिटल काउन्टर छन् भने करिब ७ वटा एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिइएको ल्होत्सेले जानकारी दिएको छ।
चाडपर्वलाई लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरीले डेस्कसमेत राखेको छ। त्यस्तै यात्रु सहायता कक्ष पनि राखिएको छ। यात्रुलाई केही असहज परिस्थिति भयो भने यात्रु सहायता कक्षमा जान सकिन्छ। त्यहाँ व्यवसायी, ट्राफिक प्रहरी तथा सम्बन्धित सरोकारवालामार्फत गुनासो सम्बोधन हुने ल्होत्सेका मानव संसाधन व्यवस्थापक मल्लले भने।