संसारभर विद्युतीय सवारी साधनको माग बढ्दो छ। नेपालमा समेत पछिल्लो समय विभिन्न कम्पनीले विद्युतीय सवारी साधनको आयातमा जोड दिएका छन्।
यस्तैमा गत असारमा कुजु नेपाल प्रालिले याडियाको एस-लाइक, जि ५ र सि वान एस गरेर तीन वटा मोडलको विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। यसले छोटो समयमै राम्रो बजार लिएको कम्पनीको भनाइ छ।
याडिया दुई पांग्रे विद्युतीय सवारी निर्माण कम्पनी हो। यो चिनियाँ कम्पनी हो जसले नेपालसहित ७५ भन्दा बढी देशमा विद्युतीय दुई पांग्रे सवारी निर्यात गर्दैछ।
नेपालमा भित्रिएको तीन मोडलमध्ये एस-लाइक सबैभन्दा सस्तो तर राम्रो बजार पाएको मोडल हो।
एस-लाइक जिटीआर ३.० ब्रोड ब्यान्ड इलेक्ट्रोमोटर प्रयोग गरिएको छ। यसले अधिकतम १२०० वाट पावर दिन्छ भने रेटेड पावर २००० वाट छ। यो जिटिआर मोटरले अधिकतम १२० एनएम टर्क जेनेरेट गर्छ। मोटर आइपी ६५ वाटरप्रुफ रेटेड छ।
एस-लाइकमा ६० भोल्ट, २४ एएमपीको लिथियम आयोन ब्याट्री प्याक छ। यो ब्याट्री पूरा चार्ज हुन ६ घन्टा समय लाग्छ। यसलाई ग्राहकले घरमा हुने सकेटमा सजिलै चार्ज गर्न सक्छन्। एक पटकको पूरा चार्जपछि स्कुटर ६० किलोमिटरसम्म कुद्ने कम्पनीले दाबी गरेको छ।
एस लाइक सिंगल र डुअल ब्याट्री भर्सनमा उपलब्ध छ। कम्पनीले ब्याट्री र मोटर दुवैको दुई- दुई वर्षको वारेन्टी दिएको छ। सुरक्षाका लागि स्कुटरमा सट सर्किट, ओभर करेन्ट प्रोटेक्सन, सक प्रोटेक्सन र ओभर चार्ज प्रोटेक्सन जस्ता विशेषताहरू छन्।
त्यस्तै यसमा एन्टिथेप्ट लक सिस्टम पनि छ। स्कुटर लक मोडमा हुँदा कसैले यसलाई चलाउन खोज्यो भने यसले स्कुटर धनीलाई सावधान गराउँछ।
यसमा १२ इन्चको ट्युबलेस टायर छ। यो भनेको अधिकांश पेट्रोलबाट चल्ने स्कुटरभन्दा धेरै हो। त्यस्तै यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम र ह्विलबेस १३०० एमएम छ। त्यसैले कच्ची बाटोमा पनि स्कुटर राम्ररी चल्छ। स्कुटरमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक छ। झ्याप्प रोक्न परे गाह्रो हुँदैन।
एस-लाइकको टप स्पीड ५० किलोमिटर प्रति घन्टाको छ। यसमा दुइटा गियर छन्। पहिलो गियरमा २७ किलोमिटर प्रति घण्टाको स्पिडमा गुड्छ भने दोस्रो गियरमा ४९-५० किलोमिटर प्रति घन्टाको स्पिडमा गुड्छ।
स्कुटरमा अगाडि ४.२ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ। जसमा ब्याट्री इन्डिकेटर, स्पिड, ट्रिप मिटरहरू एकै पटक हेर्न सकिन्छ। स्कुटरमा युएसबी पोर्ट पनि दिइएको छ।
भित्री विशेषतासँगै स्कुटरको बाहिरी आवरण पनि निकै स्टाइलिस छ। स्कुटरको लम्बाइ १७५० एमएम, चौडाइ ६८० एमएम र उचाइ १४५० एमएम छ। यसको फिनिसिङ एकदमै राम्रो छ। एलइडी हेडलाइट र टेललाइट छ।
स्कुटरमा सिटमुनि १८ लिटरको स्टोरेज क्षमता छ। यसको अगाडि भागतिर पनि सामान झुन्ड्याउने हुक छ। स-साना केही सामान राख्न अगाडि ग्लोभ कम्पार्टमेन्ट पनि छ।
बजारमा एस-लाइक म्याट ब्ल्याक (कालो), ग्रे र निलो रङमा उपलब्ध छ। कम्पनीले याडिया एस-लाइकको सुरूआती बजार मूल्य २ लाख ३० हजार रूपैयाँ तोकेको छ।
यसपालि चाडपर्वको अवसरमा वातावरणमैत्री स्कुटर किन्ने सोचमा भएका ग्राहकको लागि याडिया एस-लाइक राम्रो विकल्प हुन सक्छ।