बिएमडब्ल्युले भारतीय बजारमा नयाँ स्कुटर सी४०० जिटी सार्वजनिक गर्दैछ। कम्पनीले सामाजिक सञ्जालमार्फत नयाँ स्कुटर आउँदो मंगलबार सार्वजनिक गर्ने बताएको हो।
सी ४०० जिटी प्रिमियम म्याक्सी–डिजाइनको स्कुटर हो। भारतीय अखबार अटो हिन्दुस्तानले यो स्कुटरको मूल्य भारु ५ लाख हुने अनुमान लगाएको छ। कम्पनीले स्कुटरको प्रि–बुकिङ समेत सुरू गरेको छ।
नयाँ स्कुटरको बाहिरी र भित्री विशेषताहरू पृथक हुनेछन्। यसमा सहज यात्राको लागि आवश्यक हरेक विशेषताहरू समावेश गरिएको छ। म्याक्सी डिजाइनको यो स्कुटरमा विन्ड(सिल्ड, पुल्ड–ब्याक ह्यान्डलबार र ठूलो सिट छ। त्यस्तै यसमा पुरै एलइडी लाइटिङ, साँचोबिना स्टार्ट गर्न मिल्ने प्रविधि, एबिएस प्रविधि, एन्टी–थेफ्ट अल्राम प्रविधि र ब्ल्युटुथ भएको इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ।
स्कुटरमा ३५० सिसीको इन्जिन क्षमता छ। जसमा सिंगल सिलिन्डर, लिक्विङ कुल्ड प्रविधि छ। यसले ३३.५ बिएचपी पावर र ३५ एनएमको टर्क जेनेरेट गर्छ।
हाल बजारमा नयाँ सी ४०० जिटीको प्रतिस्पर्धी कुनै स्कुटर छैन। तर होन्डाले केही समयपछि फोर्जा ३५० सार्वजनिक गर्ने सम्भावना रहेको अटो हिन्दुस्तानले जनाएको छ। यसले सी ४०० जिटीसँग प्रतिस्पर्धा गर्नेछ।