केही वर्षअघि सार्वजनिक टाटा नेक्सनलाई दरिलो प्रतिस्पर्धा दिन कम्पनी आफैंले यहीँ साता टाटा पन्च सार्वजनिक गरेको छ। टाटा नेक्सनले झैं पन्चले पनि राम्रो बजार लिनेमा कम्पनी सकारात्मक छ। तर ग्राहकले यी दुई गाडीमध्ये कुन गाडी रोज्ने? आफूलाई कुन गाडी उपयुक्त हुनसक्छ भनेर कसरी छान्ने? यदि तपाईं टाटाको नेक्सन या पन्च किन्ने सोचमा हुनुहुन्छ भने यी गाडीहरू किन्नुको फाइदा र बेफाइदाहरू यस प्रकारको छः
टाटा नेक्सन र पन्च दुवै सब–कम्प्याक्ट एसयुभी सेगमेन्टअन्तर्गतको गाडी हुन्। दुवैको बाहिरी आवरणसँगै आन्तरिक विशेषतामा कम्पनीले विशेष जोड दिएको छ।
टाटा पन्च र नेक्सन दुवैको बाहिरी आवरण निकै बोल्ड छ। गाडीमा प्रोजेक्टर हेडल्याम्प र एलइडी डिआरएल छन् भने अगाडि बम्परमा ह्यालोजिन फगल्याम्स पाउन सकिन्छ। पन्चमा अगाडिको ग्रिल मुनी कालो क्ल्याडिङ छ भने नेक्सनमा परिस्कृत स्किड प्लेट पाउन सकिन्छ।
यी दुवै गाडीमा १६ इन्चको अलोय ह्विल छ। पन्चको तुलनामा नेक्सनमा फराकिलो ह्विलबेस र बढी ग्राउन्ड क्लेरेन्स छ। तर पन्चमा भएको ठूलो ह्विल आर्कले गर्दा पन्च अग्लो देखिन्छ।
टाटा पन्च र नेक्सन दुवैमा ७ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि पाउन सकिन्छ भने दुवैले एप्पल कार प्ले र एनरोइड अटो सपोर्ट गर्छ। दुवै गाडी भित्र ७ इन्च को डिजिटल टिएफटी क्लस्टर छ। आन्तरिक डिजाइनिङ र विशेषताको कुरा गर्दा नेक्सनमा भने डुअल–जोन क्लाइमेट कन्ट्रोल पाउन सकिन्छ। यो विशेषता पन्चमा भने पाउन सकिन्न। त्यस्तै नेक्सनमा सनरुफ छ भने पन्चमा यो विशेषता छैन।
दुवै गाडी निकै आरामदायी छन्। तर पन्चको तुलनामा नेक्सनमा फराकिलो ठाउँ छ। गाडीको सिटहरू निकै आरामदायी छन्। नेक्सनमा चालक सिटको लागि आर्मरेस्ट (हात राख्ने ठाउँ) छ भने पन्चमा यो विशेषता छैन। त्यस्तै पन्चमा कप होल्डरहरू पनि छैनन् जुन नेक्सनमा पाउन सकिन्छ। नेक्सनमा ३५० लिटरको डिकी क्षमता छ भने पन्चमा ३६६ लिटरको डिकी क्षमता छ।
टाटा पन्च र नेक्सन दुवै १.२ लिटर रेभोट्रोन पेट्रोल इन्जिनबाट चल्छ। नेक्सन टर्बोचार्ज संस्करणमा पनि उपलब्ध छ जसले गर्दा पन्चको तुलनामा यो बढी शक्तिशाली हुने बुझाउँछ। नेक्सनको टर्बोचार्ज १.२ लिटर युनिटले ११८ पिएस पावर र १७० एनएम टर्क जेनेरेट गर्छ भने पन्चमा भएको इन्जिनले जम्मा ८६ पिएस पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ। नेक्सनमा १.५ लिटर डिजेल विकल्पमा पनि उपलब्ध छ भने पन्चमा यो विकल्प उपलब्ध छैन।
पन्चको लागि टाटाले दुई वटा ट्रान्समिसन मात्र उपलब्ध गराएको छ। यो पाँच स्पीड म्यानुअल र एएमटी गियर विक्लपमा उपलब्ध छ। नेक्सन भने ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक ट्रान्स्मिसनमा उपलब्ध छ।
टाटा नेक्सनले प्रति लिटर १६ किलोमिटरको माइलेज दिने कम्पनीले दाबी गरेको छ। पन्चले १८.९७ किलोमिटर प्रति लिटर दरले माइलेज दिने बताएको छ। यसअर्थ नेक्सनको तुलनामा पन्चमा कम इन्धनमा लामो दुरीको यात्रा तय गर्न सकिन्छ।
कम्पनीले पन्चको सुरुवाती मूल्य भारु ५ लाख ४९ हजारदेखि ८ लाख ४९ हजारसम्म तोकेको छ। नेक्सनको मूल्य भने भारु ७ लाख २८ हजारबाट सुरु भएर डिजेल डार्क एडिसन संस्करणको मूल्य भारु १३ लाख २३ हजारसम्मको छ।