ताइवानमा आधारित टेक्नोलोजी कम्पनी फक्सकोनले विद्युतीय सवारी साधनको उत्पादन गर्ने भएको छ। कम्पनीले सवारी निर्माण काम भारतसँगै अन्य राष्ट्रहरूबाट गर्दैछ। भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार कम्पनीका अध्यक्ष लियु योङ–वेले उक्त योजना घोषणा गरेका हुन्।
अध्यक्ष लियुले केही समयअघि मात्रै विद्युतीय गाडीको लागि तीन नयाँ अवधारणा सार्वजनिक गरेका थिए। उनले सवारी निर्माण तथा उत्पादनको काम भारत, चीन र युरोपका अन्य देशहरूबाट हुने बताए। तर उक्त विषयबारे अझै पनि केही प्रतिबन्धका कारण आधिकारिक घोषणा गर्न नमिल्ने बताएका छन्।
‘सबैभन्दा अघि विद्युतीय सवारी साधन निर्माण युरोपका राष्ट्रमा हुनेछन्। तर कहाँ भन्ने ठ्याक्कै भन्न सक्दिनँ’, अध्यक्ष लियुले भने। उनले फक्सकोनले अप्रत्यक्ष रुपमा जर्मनी गाडी निर्माण कम्पनीसँग पनि सहकार्य गर्ने बताए।
संसारको सबैभन्दा ठूलो आइफोन एसम्ब्लर फक्सकोनले सोमबार मात्रै विद्युतीय सवारी निर्माणबारे तीन नयाँ अवधारणा सार्वजनिक गरेको हो। कम्पनीले मोडल सी एसयुभी र मोडल ई सेडान सार्वजनिक गर्नेछ जसमा निकै आकर्षक विशेषताहरू हुनेछन्।
यी गाडीहरू ७५० किलोमिटर प्रति सेकेन्डको दरले गुड्न सक्छ। त्यस्तै कम्पनीले मोडल टी सार्वजनिक गर्नेछ जसले एक पटकको चार्जमा ४०० किलोमिटरसम्मको माइलेज दिन्छ। यसको टप स्पीड १२० किलोमिटर प्रति घण्टाको हुनेछ।
फक्सकोनका अनुसार कम्पनीले गाडी विक्रीमा भन्दा निर्माणमा जोड दिनेछ। फक्सकोनले गाडी निर्माणकै लागि अमेरिका आधारित विद्युतीय सवारी साधन निर्माण कम्पनी फिस्कर र थाइल्यान्डको पिटिटी पिसिएलसँग सम्झौता गरेको छ।
जीप र सिट्रोनजस्ता सवारी निर्माण कम्पनी फक्सकोन र स्टेलान्टिस ग्रुपले गत मे महिनामा मात्रै संयुक्त रुपमा गाडीको आपूर्ति गर्ने योजनाबारे बताएको थियो।