कियाले अमेरिकी बजारको लागि नयाँ एसयुभी सार्वजनिक गर्दैछ। कम्पनीले बिहिबार नयाँ एसयुभीको टिजर सार्वजनिक गर्दै उक्त घोषणा गरेको हो। कम्पनीले नयाँ एसयुभीको नाम खुलाएको छैन।
कोरियाली कार निर्माण कम्पनी कियाले यसपटक सम्भवत अमेरिकी बजारको लागि नयाँ जेनेरेसनको स्पोर्टेज एसयुभी सार्वजनिक गर्ने अनुमान लगाइएको छ। टिजरमा देखिएको बाहिरी आवरणको आधारमा यो अनुमान लगाइएको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।
नयाँ एसयुभीको इन्जिन क्षमता सामान्यभन्दा शक्तिशाली हुनेछ। कम्पनीका अनुसार गाडीलाई दुई ड्राइभ विकल्पमा चलाउन सकिन्छ। त्यस्तै यसमा उच्च प्रविधि इन्फोटेनमेन्ट र चालक सहायता प्रणाली पनि हुनेछ। कच्ची बाटोमा चलाउन कम्पनीले यो गाडीमा बढी सुविधा र विशेषताहरू थपेको छ। यसको ग्राउन्ड क्लेरेन्स पनि उच्च हुने बताइएको छ।
पाँचौं पुस्ताको यो स्पोर्टेज एसयुभी कियाको एन३ प्लेटफर्ममा आधारित हुनेछ। सोही प्लेटफर्म हुन्डाई मोडलहरू जस्तै टुक्सन, सोनाटा, सान्ता फी र कियाको मोडेलहरू जस्तै सोरेन्टो र के५मा प्रयोग गरिएको छ। यसको क्याबिन कियाको विद्युतीय सवारी६ बाट प्रेरित छ। क्याबिनको अगाडि भागमा १२.३ इन्चको सिसामा चालकले इन्फोटेनमेन्ट र चालक इन्फोर्मेसन प्रविधि पाउन सकिन्छ।
कियाले यो नयाँ एसयुभी हाइब्रिड र प्लग–इन हाइब्रिड गरेर दुवै संस्करणमा उपलब्ध गराउँदैछ। गाडीमा १.६ लिटर टर्बो चार सिलिन्डर इन्जिन हुने अनुमान लगाइएको छ। यही इन्जिन हुन्डाईको टुस्कोन र स्यान्टा फी र कियाको सोरेन्टोमा प्रयोग गरिएको छ। यसले हाइब्रिड पावरट्रेनमा अधिकतम २२७ एचपी पावर र प्लग–इन हाइब्रिड संस्करणमा २६१ एचपी पावर जेनेरेट गर्ने अनुमान लगाइएको छ।
कियाले अमेरिकी बजारको लागि यो नयाँ एसयुभी अक्टोबर २७ मा सार्वजनिक गर्ने घोषणा गरेको छ। तर गाडी बिक्री भने सन् २०२२ देखि मात्रै हुनेछ।