टोयोटा मोटर्सले आगामी तीन वर्षभित्र १५ वटा नयाँ विद्युतीय गाडीको निर्माण घोषणा गरेको छ। तर संसारको सबैभन्दा बढी कार निर्माण गर्ने कम्पनी टोयोटाले विद्युतीय सवारी साधन सबैको लागि अनिवार्य गर्न नपर्ने बताएको छ।
कम्पनीका प्रमुख इन्जिनियर ग्रिल प्र्यान्टका अनुसार यतिबेला प्रायः मानिस वातावरण प्रदुषण नियन्त्रण र कार्बोन फुटप्रिन्टबारे चिन्तित छन्। तर यसको लागि विद्युतीय सवारी निर्माण र चल्तीबाहेक अरू पनि उपाय हुने उनी बताउँछन्।
विद्युतीय सवारी निर्माण तथा बिक्रीबारे छलफल गर्न बिहिबार आयोजित एक कार्यक्रम बोल्दै ग्रिलले सो विषय उठाएका हुन्। ग्रिलले प्रदुषण नियन्त्रणका लागि विद्युतीय सवारी साधनसँगै पेट्रोल–हाइब्रिड र हाइड्रोजनबाट चल्ने सवारी निर्माणमा प्राथमिकता दिन सकिने बताए।
‘कुन कुराले समस्याको समाधान गर्छ र यसैले गर्दा समस्याको समाधान हुन्छ भन्ने निर्धारण गर्ने काम हाम्रो मात्र होइन’ ग्रिलको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ। उनको यो तर्कमा टोयोटा मोटर्सका अध्यक्ष अकिओ टोयोडा र अन्य सदस्यले सहमति जनाएका छन्।
टोयोटाका प्रायः सवारी मोडल इन्धनबाट चल्छ। हालै मात्र कम्पनीले विद्युतीय सवारी निर्माणमा जोड दिन थालेको हो।
कम्पनीको योजनाअनुसार सार्वजनिक हुन लागेको १५ वटा पुरै विद्युतीय मोडलसँगै हाइब्रिड र हाइड्रोजन इन्धनबाट चल्ने सवारी पनि निर्माण हुने अटो हिन्दुस्तानले जनाएको छ। कम्पनीको हाइब्रिड संस्करणमा पर्ने आरएभी४, हाइल्यान्डर, प्रिउस र क्याम्री हाइब्रिडले संसारभर राम्रो बजार लिएको छ।
केही समयअघि मात्रै गाडी निर्माणमा आवश्यक ब्याट्री उत्पादनमा कम्पनीले ३.४ बिलियन डलर खर्च गरेको छ। कम्पनीले सन् २०२५ सम्म अमेरिकामा नयाँ उत्पादन केन्द्र सञ्चालन गर्ने योजना तयार पारेको छ।
हाल अमेरिकामा एक चौथाइ हिसाबले विद्युतीय गाडी बिक्री हुँदैछ। तर सन् २०३० सम्ममा यो मात्रा बढेर ७० प्रतिशत हुने अनुमान लगाएको छ।