काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ।
राजदूत गोडरले मेयर खरेललाई पाँचखालस्थित नगरपालिकाकै कार्यालयमा पुगेर भेट भेट गरेका हुन्। भेटमा कृषि क्षेत्रमा दुई पक्षीय साझेदारीका बिषयमा छलफल भएको मेयर खरेलले जानकारी दिए।
‘इजरायल र पाँचखाल नगरबीच कृषि क्षेत्रलाई आधुनिकिकरण र नयाँ प्रबिधी भित्र्याउने बिषयमा छलफल भयो। केही समयमा नै यसले मुर्त रुप लिनेछ। चाँडै नै नगर र इजरायली राजदुतावास बीचमा समझदारी हुँदैछ,’ मेयर खरेलले भने।
कुराकानीको क्रममा कृषकलाई कसरी समृद्ध बनाउने भन्ने विषयमा छलफल समेत भएको थियो। साथै इजरायलले पाँचखालका किसानहरुलाई आधुनिक खेति प्रणली तथा प्ररम्परागत खेति भन्दा नगदेबालीका विषयमा तालिम समेत दिईने विषयमा कुराकानी भएको मेयर खरेलले जानकारी दिए।
पाँचखाल नगरपालिकाले बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ। पाँचखाल नगर कृषि शहर मुल मन्त्र बनाएर नगरपालिकाले काम गर्दै आईरहेको छ।
पाँचखाल नगरपालिका ताजा तरकारी र अन्न उत्पादनका हिसाबले काभ्रे जिल्लाकै सबैभन्दा राम्रो क्षेत्र मानिन्छ। तर सिंचाई अभावमा सोचेजति किसानले आम्दानी लिन भने सकेका छैनन्।
कृषिमा इजरायली प्रविधि, ज्ञान र सीप विश्वमै उत्कृष्ट मानिन्छ। त्यही प्रविधिलाई पाँचखाल जस्तो उर्वर भूमिमा प्रयोग गर्न सके अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय तरकारी र फलफूल उत्पादनमा सकिने मेयर खरेलको विश्वास छ।