रोयल इन्फिल्डलले नयाँ रोयल इन्फिल्ड हिमालयन ६५० सार्वजनिक गर्दैछ। भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार कम्पनीका ग्लोबल हेड सुभ्रन्सु सिंहले अटो हिन्दुस्तानसँगको कुराकानीमा नयाँ हिमालयन ६५० सार्वजनिक गर्ने संकेत दिएका हुन्।
हाल बजारमा उपलब्ध हिमालयन ६५० सन् २०१६ मा सार्वजनिक भएको हो। यसमा भएका कमजोरीलाई सुधार्दै र विविध अपडेटसहित नयाँ हिमालयन ६५० सार्वजनिक हुने भनिएको हो। बाहिरी अफहवाअनुसार कम्पनीले झन्डै १८ महिना अघिदेखि यसको उत्पादन काम समेत सुरु गरिसकेको छ।
नयाँ हिमालयन ६५० पहिलेकै ६५० सिसी प्लेटफर्ममा आधारित हुनेछ। यसमा ६४८ सिसी डिस्प्लेसमेन्टको इन्जिन हुनेछ जसले ४७ बिएचपी पवार र ५२ एनएम टर्क जेनेरेट गर्नेछ। यसमा ६ स्पीड गियरबक्स हुनेछ।
नयाँ हिमालयन ६५० को पाङ्ग्रा र चेसिसमा भने परिवर्तन देखिनेछ। पहिले हिमालयनमा २१ इन्चको टायर थियो भने यसपटक जम्मा १९ इन्चको टायर हुने भनिएको छ। त्यस्तै टायर ट्युबलेस टायर हुने अनुमान छ। जसले यसको प्रदर्शनमा समेत बढावा दिनेछ।
रोयल इन्फिल्डको नयाँ हिमालयन ६५० सन् २०२४ सम्ममा सार्वजनिक हुने अनुमान लगाइएको छ।