मारुती सुजुकीले भारतीय बजारमा नयाँ गाडी सार्वजनिक गर्दैछ। कम्पनीले भोलि, बुधबार ह्याचब्याग सेग्मेन्टअन्तर्गत नयाँ सुजुकी सेलेरिओ सार्वजनिक गर्ने भएको हो।
सुजुकीको सेलेरिओ सन् २०१४ मा पहिलो पटक सार्वजनिक भएको हो। पछि सन् २०१८ मा यो अपग्रेड हुँदै बजार भित्रियो। भारतीय अखबार अटो हिन्दुस्ताका अनुसार सेलेरिओले राम्रो बजार पाएको छ। नयाँ सार्वजनिक हुने सेलेरिओले हुन्डाईंको सान्ट्रो र टाटा टियागोसँग प्रतिस्पर्धा गर्नेछ।
भारतीय बजारको लागि सेलेरिओ २०२१ को बुकिङ गत साता नै सुरू भएको हो। तर हालसम्म कम्पनीले गाडीबारे पुरै विवरण खुलाएको छैन। यो गाडी भारतमा उपलब्ध गाडीमध्ये सबैभन्दा कम इन्धन खपत गर्ने गाडी हुने बताइएको छ।
नयाँ सेलेरिओले प्रति लिटर २६ किलोमिटरको माइलेज दिने अनुमान लगाइएको छ। यो सुजुकी स्विफ्ट र बलेनोमा भएजस्तै इन्जिन प्लेटफर्ममा आधारित हुनेछ। गाडीको ह्विलबेस भने बढी हुनेछ। त्यस्तै गाडीभित्र क्याबनिम पनि फराकिलो हुनेछ।
गाडीको बाहिरी डिजाइनमा पनि कम्पनीले सुधार गरेको छ। सार्वजनिक केही तस्वीर र टिजरअनुसार गाडीको अगाडि भागमा परिवर्तन देखिएको छ। यसको अगाडि भागमा अण्डाकार आकारको ग्रिल छ भने बम्परलाई पुनः डिजाइन गरिएको देखिन्छ।
नयाँ सेलेरिओको ड्यासबोर्ड पनि पुनः डिजाइन गरिएको छ। यसमा स्मार्टप्ले स्टुडिओ इन्फोटेनमेन्ट प्रविधि छ जुन ७ इन्च टचस्क्रिन प्रविधिमार्फत चल्छ। यसले एप्पल कारप्ले र एनरोइड अटो दुवैलाई सपोर्ट गर्छ। त्यसैगरी गाडीको एसी भेन्ट र स्टेरिङ ह्विलमा पनि नयाँ डिजाइनिङ देख्न सकिन्छ। गाडीमा सामग्रीहरू राख्नको लागि पर्याप्त ठाउँहरू दिइएको छ।
सुरक्षाको लागि नयाँ सेलेरिओमा अगाडि दुई वटा एयरब्याग, इबिडीसहितको एबिएस, आइएसओफिक्स एन्कोरलगायत विशेषताहरू छन्।
सुजुकीको नयाँ सेलेरिओमा चार–सिलिन्डर १.२ लिटर पेट्रोल इन्जिन जडित छ। जसले अधिकतम ८३ एचपी पावर र ११५ एनएम टर्क उत्पादन गर्छ। कम्पनी १.० लिटर के१०सी श्रृङ्खलाअन्तर्गत थ्री–सिलिन्डर डुअलजेट इन्जिन जडित सेलेरिओ पनि सार्वजनिक गर्ने योजनामा छ। दुवै मोडलको गाडीमा पाँच–स्पीड म्यानुअल गियरबक्स हुने बताइएको छ।
नयाँ सेलेरिओको सुरुवाती मूल्य ४ लाख ५० हजार हुने अनुमान लगाइएको छ। हाल बजारमा उपलब्ध सेलेरिओको विभिन्न मोडलको मूल्य भारु ४ लाख ६६ हजारदेखि ६ लाख रुपैयाँ तोकिएको छ।