थुप्रै अटो निर्माण कम्पनीहरू विद्युतीय सवारी साधन निर्माणमा जोड दिदैँछन्। यस्तैमा महिन्द्रा एन्ड महिन्द्राले समेत सन् २०२७ सम्ममा १६ वटा नयाँ विद्युतीय गाडी सार्वजनिक गर्ने घोषणा गरेको छ।
यी विद्युतीय गाडीमध्ये केही एसयुभी हुनेछन् भने केही व्यवसायी प्रयोजनका गाडी हुनेछन्। भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार त्यसमध्ये ८ वटा गाडी ब्याट्रीबाट चल्ने एसयुभी हुनेछ।
‘सन् २०२७ सम्ममा हामी १३ वटा एसयुभी सार्वजनिक गर्ने योजनामा छौं। त्यसमध्ये ८ वटा विद्युतीय एसयुभी हुनेछन्’, कम्पनीका कार्यकारी निर्देशक राजेश जेजुरिकरले एक भर्चुअल पत्रकार सम्मेलनमा भने, ‘त्यस्तै सन् २०२७ सम्ममा हाम्रो २० प्रतिशत सार्वजनिक गाडी विद्युतीय बनाउने योजना छ।’
महिन्द्राले सन् २०२५ देखि २०२७ बीच विद्युतीय एसयुभी निर्माणमा प्राथमिकता दिने बताएको छ। कार्यकारी निर्देशक राजेशका अनुसार कम्पनीले विद्युतीय सवारी निर्माणमा निकै चासो देखाएको छ।
कम्पनीले विद्युतीय सवारी निर्माणको लागि भारु ३ हजार करोड लगानी गर्ने घोषणा गरेको छ। त्यस्तै कम्पनीले नयाँ ब्रान्ड नाममा पनि विद्युतीय एसयुभी सार्वजनिक गर्नेछ। महिन्द्राले विद्युतीय सवारी निर्माण व्यवसायको लागि निजी लगानीकर्तासँग समेत काम गर्ने बताएको छ।
यतिबेला महिन्द्रा इ–२० प्लस र इ–भेरिटोको निर्माणमा व्यस्त छ। कम्पनीले यी गाडीहरू छिट्टै सार्वजनिक गर्ने अनुमान लगाउन सकिन्छ।