सुजुकीको नयाँ गाडी सार्वजनिक भएको छ। मारुती सुजुकीले बुधबार भारतीय बजारको लागि ह्याचब्याग सेगमेन्टअन्तर्गत नयाँ सेलेरिओ सार्वजनिक गरेको हो। कम्पनीले गाडीको बाहिरी र भित्री विशेषताहरूमा अपग्रेड गरेको पाइन्छ।
नयाँ सेलेरिओ भारतमा उपलब्ध गाडीमध्ये सबैभन्दा कम इन्धन खपत गर्ने गाडी हुने अनुमान लगाइएको थियो। सार्वजनिक विशेषताअनुसार यो गाडीले प्रति लिटर २६.६८ किलोमिटरको माइलेज दिनेछ।
यसको भिएक्सआई एजिएस भेरियन्टले प्रति लिटर २६.६८ किलोमिटरको माइलेज दिन्छ भने जेडएक्आई प्लस एमटी भेरियन्टले प्रति लिटर जम्मा २४.९७ किलोमिटरको माइलेज दिन्छ।
सुजुकीको सेलेरिओ पहिलो पटक सन् २०१४ मा सार्वजनिक भएको हो। हालसम्म यो मोडलको गाडी ५ लाख ९० हजार वटा बिक्री भएको छ। भारतीय बजारमा सेलेरिओले राम्रो बजार पाएको छ।
हालै सार्वजनिक नयाँ सेलेरिओ युवा पुस्ता लक्षित हुने बताइएको छ। यसले बजारमा उपलब्ध टाटा टियागो, हुन्डाइ स्यान्ट्रो र ड्याटसनको गोसँग प्रतिस्पर्धा गर्नेछ।
गाडीमा १.० लिटर, ३ सिलिन्डर डुअलजेट, के-१०सी पेट्रोल इन्जिन जडित छ। ९९९ सिसी डिस्प्लेसमेन्ट भएको उक्त इन्जिनले ६,००० आरपिएममा ६७ बिएचपी पावर र ३,५०० आरपिएममा ८९ एनएम टर्क जेनेरेट गर्छ। यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसन छ।
नयाँ सेलेरिओको बाहिरी डिजाइनिङमा कम्पनीले विशेष प्राथमिकता दिएको पाइन्छ। अगाडि भागमा परिमार्जित ग्रिल, सार्प हेडलाइट र फग लाइट पाउन सकिन्छ। यसको क्याबिन पनि ठूलो छ।
गाडीमा हिल होल्ड असिस्ट, इन्जिन स्टार्ट–स्टप, स्मार्टफोन न्याभिगेसन प्रविधिसहितको ७ इन्चको स्मार्टप्ले इन्फोटेनमेन्ट स्क्रिनलगायत विशेषताहरू छन्।
सुरक्षाको लागि गाडीमा इबिडीसहितको एबिएस, सिट बेल्ट रिमाइन्डर, हाइ–स्पीड अलर्ट, डुअल एयरब्याग लगायत १२ विशेषताहरू छन्। त्यसैगरी गाडीमा जम्मा १५ इन्चको अलोय ह्विल छ।
गाडीको लम्बाइ ३,६९५ एमएम, चौढाइ १,५५५ एमएम र उचाइ २,४३५ एमएम छ। यसको ह्विलबेस जम्मा २,४३५ एमएम छ।
कम्पनीले नयाँ सेलेरिओ विभिन्न ६ रंग विकल्पमा उपलब्ध गराउँदैछ। त्यसमध्ये निलो र रातो नयाँ रंग विकल्प हुन्।
सुजुकीले नयाँ सेलेरिओको सुरुवाती मूल्य भारु ४ लाख ९९ हजारदेखि ६ लाख ९४ हजार तोकेको छ।