महिन्द्राले हालै सार्वजनिक नयाँ एक्सयुभी–७०० मा पाँच स्टार सुरक्षा रेटिङ पाएको छ। भारतीय अखबार बिजनेस स्ट्यान्डर्डका अनुसार महिन्द्रा एक्सयुभी–७०० ले ग्लोबल एनक्याप क्र्यास टेस्टमा वयस्क व्यक्ति सुरक्षाको हकमा पाँच स्टार रेटिङ पाएको हो।
एक्सयुभी–७००ले ग्लोबल एनक्याप टेस्टमा हालसम्म भारतमा उत्पादित गाडीमध्ये सबैभन्दा बढी सुरक्षा रेटिङ पाएको हो। यसले वयस्क र बालबालिकाको सुरक्षाको हकमा पूर्णाङ्क ६६.०० मा ५७.६९ पाएको छ।
गाडीले वयस्क सुरक्षाको हकमा १७ मा १६.०३ र बालबालिकाको सुरक्षा हकमा ४९ मा ४१.६६ अंक पाएको हो। यस हिसाबमा महिन्द्राको यो एक्सयुभी सबैभन्दा सुरक्षित भारतीय गाडीको रुपमा परिचित हुँदैछ।
महिन्द्राको एक्सयुभी–७०० को ग्लोबल एनक्याप टेस्ट गत महिना जर्मनमा भएको हो। टेस्टमा पाँच स्टार पाउनु भनेको गाडी सबैभन्दा सुरक्षित छ भन्ने बुझिन्छ। त्यस्तै जति कम स्टार रेटिङ मिल्छ गाडी त्यति नै असुरक्षित मानिन्छ।
‘एक्सयुभी–७०० निर्माण भइरहेको समय नै यसले पाँच स्टार सुरक्षा रेटिङ पाउनेमा हामी विश्वस्त थियौं। ग्लोबल एनक्यापको नतिजासँगै महिन्द्राले एसयुभी खण्डलाई प्रदर्शन र सुविधाहरूमा मात्र नभई सुरक्षाका सर्तहरूलाई समेत पुनः परिभाषित गर्दैछ’,कम्पनीका ग्लोबल प्रोडक्ट डेभलपमेन्टका वेलुसामी आरका प्रमुखले भने। उनका अनुसार कम्पनीको मुख्य उद्देश्य सुरक्षित गाडीहरू निर्माण एवम् सार्वजनिक गर्नु हो।
भारतीय बजारको लागि महिन्द्राको यो एक्सयुभी–७०० गत अगस्टमा सार्वजनिक भएको हो। कम्पनीले यसको सुरुवाती बजार मूल्य भारु १२ लाख ४९ हजार तोकेको छ।