भोल्भो कार इन्डियाले हालै एसयुभी एक्ससी–९० को फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार भारतीय बजारको लागि यो नयाँ एसयुभी सार्वजनिक गरेको हो। यसको सुरुवाती मूल्य भारु ८९ लाख ९ हजार तोकिएको छ।
फेसलिफ्ट भएर सार्वजनिक एक्ससी–९० संस्करण नयाँ पेट्रोल माइल्ड हाइब्रिड इन्जिनमा उपलब्ध छ। १९६९ सिसी डिसप्लेसमेन्ट भएको एसयुभी एक्ससी९० ले अधिकतम ३०० एचपी पवार र ४२० एनएम टर्क जेनेरेट गर्छ। गाडीको इन्जिन ८ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार यसभन्दा अघि कम्पनीले भारतीय बजारको लागि माइल्ड–हाइब्रिड मोटरसहितको एस९० र एक्ससी६० सार्वजनिक गरेको थियो।
'नयाँ एक्ससी९० सार्वजनिक गरेसँगै हामीले यो त्रैमासिकमा तीनवटा नयाँ पेट्रोल माइल्ड(हाइब्रिड मोडलको गाडी सार्वजनिक गरेका छौं। ग्राहकहरूको प्रतिक्रिया र विश्वासका कारण हामीलाई प्रविधिले भरिपुर्ण नयाँ मोडलहरू सार्वजनिक गर्न प्रेरित गरेको छ', भोल्भो कार इन्डियाका प्रबन्ध निर्देशक ज्योति मल्होत्रा भन्छन्, 'यो नयाँ गाडी सार्वजनिक गरेसँगै यसले डिजेलबाट पेट्रोल गाडी बनाउने हाम्रो प्रतिबद्धतालाई पुरा गरेको छ। यसले भारतीय बजारमा ब्रान्ड विस्तारमा समेत मद्दत मिल्नेछ।'
नयाँ एसयुभी एक्ससी९०मा नयाँ अपडेटहरू पनि पाइन्छ। यसमा भोल्भोको सबैभन्दा नयाँ हावा सफा गर्ने प्रविधि छ। जसले क्याबिन भित्रको हावाको गुणस्तरलाई बाहिरी हावाभन्दा सफा राख्छ। त्यस्तै यसमा हेड-अप डिस्प्ले समावेश गरिएको छ। यसले चालकलाई आवश्यक सम्पूर्ण जानकारी जस्तै सवारीको गति, टर्न–बाइ–टर्न नेभिगेसन अलर्टलगायत जानकारी ड्यासबोर्डमै देखाउँछ।
बजारमा नयाँ एक्ससी९० पियर, ग्रे, कालो र निलो गरेर चार विभिन्न रंगमा उपलब्ध छ।