भारतीय विद्युतीय सवारी निर्माण कम्पनी ओलाले छिट्टै विद्युतीय बाइक बनाउने घोषणा गरेको छ। कम्पनीका सिइओ भविष अग्रवालले ट्विटरमार्फत उक्त घोषणा गरेका हुन्।
सिइओ अग्रवालले केही समय अघिदेखि नै कम्पनीले विद्युतीय सवारी उत्पादनमा जोड दिने बताउँदै आएका छन्। आइतबार भने अर्को वर्षदेखि विद्युतीय बाइक निर्माणको घोषणा गरेका हुन्। योसँगै विद्युतीय स्कुटरहरू सस्तो मूल्यमा उपलब्ध हुने बताएका छन्।
अमेरिकी वेभसाइट इलेट्रेकले केही समय अघि ‘ओलाले विद्युतीय बाइक निर्माणमा काम गर्दै’ शीर्षकमा लेखेको समाचार ट्विट गरेको थियो। सोही ट्विटमा जवाफ फर्काउँदै सिइओ अग्रवालले भनेका छन्, ‘हो, अर्को वर्ष।’ यो जवाफले उनको कम्पनी इ-बाइक उत्पादनमा सक्रिय रहेको जनाउँछ।
गत सेप्टेम्बरमा मात्रै ओलाले विद्युतीय सवारी निर्माण योजनालाई बलियो बनाउन भन्दै झन्डै १५ अरब रुपैषाँ संकलन गरेको थियो। सिइओ अग्रवालले उक्त कोष जुटाउनुलाई विद्युतीय सवारीको स्टार्टअप योजना रहेको बताए।
सन् २०२५ सम्ममा भारतीय सडकमा इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्नेमा उनी सकारात्मक छन्।
ओलाले पहिलो पटक गत अगस्टमा आफ्नो विद्युतीय स्कुटर सार्वजनिक गरेको थियो। भारतमा यसले राम्रो बजार पाएको छ। ओलाको स्कुटर एस१ र ए१ प्रो गरी दुई ट्रिममा उपलब्ध छ।
एस१ले एक पटकको पुरा चार्जमा १२० किलोमिटरको माइलेज दिन्छ भने एस१प्रोले एक पटकको पुरा चार्जमा १८० किलोमिटरको माइलेज दिन्छ। भारतीय बजारमा एस१ को मूल्य भारु १ लाख तोकिएको छ। त्यस्तै एस१प्रोको मूल्य भारु १ लाख ३० हजार तोकिएको छ।