नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्य घटाउन वा त्यसअनुसारको भाडादर बढाउन माग गरेको छ।
सोमबार महासंघ महासचिव राजेन्द्रविक्रम बानियाँले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेका हुन्।
'हामी यातायात व्यवसायीहरू पेट्रोलियम पदार्थमा भएको यस किसिमको चर्को मूल्यवृद्धिको घोर विरोध गर्दछौं र यो फिर्ता लिन सम्बन्धित निकायसँग अनुरोध गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'यदि यो फिर्ता हुन सक्दैन भने यातायात व्यवसायीहरूले आ-आफ्ना सवारीसाधन घर- ग्यारेजमा थन्काउनु अगावै डिजेलमा भएको मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गरियोस् भनि अनुरोध गर्दछौं।'
यसअघि महासंघ र यातायात व्यवस्था विभागबीच भएको सहमति अनुसार डिजेलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ हुँदा भाडादर समायोजन गरिएको थियो।
पेट्रोलियम पदार्थको मूल्य पाँच रुपैयाँले तलमाथि हुने बित्तिकै भाडादर समायोजन गर्ने सहमति भएको महासंघले जनाएको छ।
तर अहिले एक्कासि डिजेलको मूल्या १०४ बाट ११९ रुपैयाँ पुग्दा आफूहरूले यही भाडादरमा व्यवसाय सञ्चालन गर्न नसक्ने महासंघले जनाएको हो।