भारतीय बजारमा अडीको क्यू–५ सार्वजनिक भएको छ। कम्पनीले यो गाडी पुनःफेसलिफ्टसहित मंगलबार सार्वजनिक गरेको हो। झन्डै दुई वर्षअघि बिएस–६ उत्सर्जन मापदण्डमा गरिएको कडाइका कारण अडी क्यू–५ को उत्पादन तथा बिक्री रोकिएको थियो। मंगलबार भने बजारमा नयाँ क्यू–५ भित्रिएको हो।
कम्पनीले नयाँ अपग्रेड र फेसलिफ्ट सहितको अडी क्यू–५को बजार मूल्य भारु ५८ लाख ९३ हजार तोकेको छ। सार्वजनिक भएको छोटो समयमै यो गाडीको सयौं बुकिङ भइसकेको कम्पनीले बताएको छ। भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार गाडीको डेलिभरी पनि छिट्टै हुनेछ।
२०२१ अडी क्यू–५ ‘पर्फमेन्स पल्स ट्रिम’ र ‘द हाइयर–स्पेक टेक्नोलोजी ट्रिम’ गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। द हाइयर–स्पेक टेक्नोलोजी ट्रिमको मूल्य भने ६३ लाख ७७ हजारसम्म पुग्ने बताइएको छ।
अडी क्यू–५ मा कम्फर्ट, डाइनामिक, इन्डिभिज्युअल, अटो र न्यू अफ–रोड गरी पाँच ड्राइभ मोड छन्। यो गाडीको टप स्पीड २३७ किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्छ। त्सतै गाडी जम्मा ६।३ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्छ।
कम्पनीले नयाँ क्यूभ-५ को इन्जिनमा केही परिवर्तन गरेको छ। यो एसयुभी अब पेट्रोलबाट मात्रै भेरियन्टमा उपलब्ध छ। गाडीमा २.० लिटर चार सिलिन्डरको इन्जिन जडित छ। जसले २४९ बिएचपी पावर र ३७० एनएम टर्क जेनेरेट गर्छ। गाडीमा सात–स्पिड डुअल–क्लच ट्रान्समिसन छ।
गाडीको अगाडि भागमा ठूलो सिंगल-फ्रेम अष्टभुज आकारको ग्रिल छ। यसमा पुरै एलइडी हेडलाइट, डिआरएल र १९ इन्चको अलोय ह्विल छ। क्यू–५को भित्री डिजाइनिङमा पनि कम्पनीले सुधार गरेको छ। गाडीको ड्यासबोर्डमा १०.१ इन्चको टचस्क्रिन छ। यसमा एमएमआई टच, भोइस कन्ट्रोल, एप्पल कारप्ले, एनरोइड अटो, हिल–होल्ड असिस्ट, क्रुज कन्ट्रोल जस्ता विशेषताहरू पनि सपोर्ट गर्छ।
त्यस्तै गाडीमा पुरै डिजिटल ड्राइभ डिस्प्ले, अपडेट गरिएको स्टेरिङ ह्विल, प्यानोरामिक सनरुफ, वायरलेस फोन चार्जिङ, फ्रन्ट पार्किङ सेन्सर जस्ता विशेषता पनि छन्। यसमा १९ वटा स्पिकर साउन्ड सिस्टम छ जसबाट थ्री–डी साउन्ड इफेक्ट पाउन सकिन्छ। गाडीमा विद्युतीय तरिकाले डिकी खोल्न मिल्छ। त्यस्तै यसमा की–लेस इन्ट्री गर्न सकिन्छ। अर्थात् गाडी खोल्न चाबी नै प्रयोग गर्नुपर्दैन। चालक आफूसँग चाबी भए गाडी खुल्छ।
अडी क्यू–५ सार्वजनिक गर्नुअघि कम्पनीले यही वर्ष मात्रै पाँचवटा नयाँ मोडलको विद्युतीय गाडी सार्वजनिक गरेको छ। अडीको नयाँ क्यू–५ले बिएमडब्लयु एक्स३, मर्सिडिज जिएलसी र भोल्भो एक्ससी६० सँग प्रतिस्पर्धा गर्नेछ।