कंग्लोमेरेट डार्विन प्लेटफर्म ग्रुप अफ कम्पनी (डिपिजिसी)ले भारतीय बजारको लागि तीन वटा नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले डार्विन डी–५, डार्विन डी–७ र डार्विन डी–१४ गरी तीनवटा स्कुटर सार्वजनिक गरेको हो।
कम्पनीको निर्माण प्लान्ट भारतको दिल्लीमा छ। यसले पर्यावरणमैत्री र दिगो उत्पादनका अभ्यासहरू अपनाउने भारतीय अखबार इन्डिया टुडेले जनाएको छ।
सार्वजनिक नयाँ स्कुटरको सुरुवाती मूल्य भारु ६८ हजार रुपैयाँदेखि तोकिएको छ। यसको मूल्यसूची यस प्रकारको छः
डार्विन डी–५ः भारु ६८,०००
डार्विन डी–७ः भारु ७३,०००
डार्विन डी–१४ः भारु ७७,०००
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजा रोय चौधरीले नयाँ विद्युतीय स्कुटर सार्वजनिक गर्दै भनेका छन्, ‘विश्व अटोमोटिभ उद्योगले फड्को मार्ने चरणमा छ। विस्तारै हामी विद्युतीय गतिशीलतालाई प्राथमिकता दिदैछौँ। डार्विन इभिएटीले यस विद्युत क्रान्तिमा थप योगदान पुर्याउने लक्ष्य राखेको छ।’
योसँगै सिइओ राजा रोयका अनुसार कम्पनीको विद्युतीय संस्करण ‘क्लास लिडिङ प्रोडक्ट’को विचारसँगै सुरु भएको छ। अर्थात् यसले विद्युतीय संस्करणका सवारी विकास एवम् निर्माणमा विशेष प्राथमिकता दिनेछ।
डार्विनका नयाँ विद्युतीय स्कुटर प्रायः युवा पुस्ता लक्षित छन्। यसको बाहिरी आवरण निकै सानदार छ। मस्कुलर डिजाइन भएको यो स्कुटरले राम्रो माइलेज दिने कम्पनीले दाबी गरेको छ। त्यस्तै यसमा की–लेस इन्ट्री, रिजेनिरेटिभ ब्रेकिङ, स्पीड कन्ट्रोल गियर, ब्याट्री स्वापिङ (ब्याट्री फेर्न मिल्ने), ठूलो एलइडी डिस्प्ले, उच्च क्वालिटीको सस्पेन्सन, युएसबी मोबाइल चार्जर पोर्टलगायत विशेषताहरू छन्।
कम्पनीले यी नयाँ स्कुटरको प्रदर्शन निकै टिकाउ हुने बताएको छ। एक पटकको पुरा चार्जमा यी स्कुटरले ७० देखि १२० किलोमिटरसम्मको माइलेज दिन्छ।
त्यस्तै कंग्लोमेरेट डार्विन प्लेटफर्म ग्रुप अफ कम्पनीले विद्युतीय स्कुटरहरूको गुणस्तर र अन्य विशेषताहरूको अपग्रेडको लागि भविष्यमा भारु ४५० करोडको लगानी गर्ने बताएको छ। यो कम्पनीले क्वालिटी अस्ट्रिया सेन्ट्रल एसियाअन्तर्गतको गुणस्तर परीक्षणमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र समेत प्राप्त गरेको छ।