स्कोडाको नयाँ करोक एसयुभी सार्वजनिक हुँदैछ। कम्पनीले भोलि मंगलबार पहिलो जेनेरेसनको रिस्टाइलिङ गरिएको नयाँ करोक एसयुभी सार्वजनिक गर्ने भएको हो। भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार नयाँ करोक सन् २०२२ देखि बजार प्रवेश गर्दैछ।
करोक पहिलो पटक सन् २०१७ मा सार्वजनिक भएको एसयुभी हो। त्यस बेलादेखि अहिलेको तथ्यांकाअनुसार यो स्कोडा ब्रान्डको सबैभन्दा प्रख्यात गाडीमध्ये दोस्रो श्रेणीमा पर्छ।
कम्पनीले नयाँ करोको डिजाइन कोडियाकको जस्तै हुने बताएको छ। कोडियाक स्कोडाको पहिलो एसयुभी गाडी हो। नयाँ करोकको अगाडि भागमा हेक्जागोनल डिजाइन हुनेछ जसले गाडीको बाहिरी आवरणलाई सानदार देखाउँछ। गाडीको हेडलाइटको डिजाइन पहिलेको तुलनामा पातलो हुनेछ भने यो ग्रिलसम्म पुगेको लाम्चो हुनेछ। यसमा डिआरएल लाइटिङ हुनेछ।
स्कोडाको नयाँ करोक एसयुभीको पछाडिको भाग पनि पुनः डिजाइन गरिएको छ। गाडीको हेडलाइटहरू जस्तै यसको टेललाइट पनि नयाँ डिजाइनमा तयार पारिएको छ। गाडीको आवरण निकै साहसिक छ। यसमा चार वटा ड्राइभ मोड हुने अनुमान लगाइएको छ।
त्यस्तै यसको आन्तरिक डिजाइनमा पनि कम्पनीले विशेष प्राथमिकता दिएको छ। यसको भित्र क्याबिन खुल्ला ठाउँ छ भने डिकीमा पनि पर्याप्त ठाउँ छ।
स्कोडाको नयाँ करोकमा चार सिलिन्डर, १.४ टिएसआई पेट्रोल इन्जिन जडित हुने बताइएको छ। जसले २०४ एचपी पावर जेनेरेट गर्छ। सार्वजनिक हुने तयारीमा रहेको नयाँ करोकको बजार मूल्य भारु २५ लाखभन्दा बढी हुने अनुमान लगाइएको छ। पहिले यो गाडीको मूल्य भारु २४ लाख ९९ हजार तोकिएको थियो।