बिएमडब्लुले नयाँ विद्युतीय गाडीको अनावरण गरेको छ। कम्पनीले सोमबार आफ्नो विद्युतीय संस्करणअन्तर्गत 'कन्सेप्ट एक्सएम' एसयुभीको अनावरण गरेको हो।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार यो गाडीको उत्पादन सन् २०२२ देखि सुरू हुनेछ।
नयाँ कन्सेप्ट एक्सएम कम्पनीको एमु प्रदर्शन ब्रान्डअन्तर्गत पर्नेछ। त्यस्तै यो गाडी प्लग-इन हाइब्रिड गाडीको रूपमा बजारमा उपलब्ध हुनेछ। यसमा विद्युतीय मोटरसहित भी ८ इन्जिन जडित हुने बताइएको छ। जसले ७५० एचपी पावर र १,००० एनएम टर्क जेनेरेट गर्छ।
कन्सेप्ट एक्सएमले एक पटकको पुरा चार्जमा ८० किलोमिटरको माइलेज दिनेछ। बिएमडब्लुको एम संस्करणअन्तर्गत यो गाडी सबैभन्दा शक्तिशाली हुने बताइएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत फ्रान्सिसस् भ्यान मिलले भनेका छन्, ‘बिएमडब्लु कन्सेप्ट एक्सएमले उच्च कार्यसम्पादन गाडी खण्डको पुनः कल्पनालाई प्रतिनिधित्व गर्छ। यसले ग्राहकलाई निकै आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्नेछ।’
बिएमडब्लुको नयाँ कन्सेप्ट एक्सएमको आवरण र विशेषताहरू पनि निकै विलासी हुनेछन्। यसको अगाडि भागमा ठूलो ग्रिल र स्लिक हेडल्याम्प हुनुका साथै डिजाइनिङ पनि निकै बोल्ड छ। एलइडी हेडलाइटसहित गाडीमा डिआरएल छ। यसमा २३ इन्चको पाङ्ग्रा छ।
गाडीको भित्री भागमा पनि विभिन्न स्टाइलिङ देख्न सकिन्छ जसले यसको भित्री भागमा निकै लक्जरी प्रदान गर्छ। गाडीको भित्री भागमा भिन्टेज-लुक्स भएको छाला, तामा र कार्बन फाइबरहरूको प्रयोग गरिएको छ। यसको ड्यासबोर्डमा कर्भ आकारको डिस्प्ले छ। योसँगै आईड्राइभसहितको इन्फोटेनमेन्ट स्क्रिन पनि छ। गाडीको हेडलाइनर थ्री-डाइमेन्सनल प्रिज्म संरचनाको छ।
बिएमडब्लुले यो विद्युतीय कन्सेप्ट एक्सएमको मूल्य सार्वजनिक नगरे पनि गाडीको मूल्य १ करोड ५० लाखभन्दा बढी हुने अनुमान लगाइएको छ।