सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियसनको अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।
बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी अध्यक्ष पदका प्रत्यासी चौधरीले आफ्नो प्यानलका सदस्यहरु सार्वजनिक गरेका हुन्।
आफ्नो प्यानलमा अटोमोबाइल क्षेत्रमा लामो अनुभव बोकेका व्यवसायीदेखि नयाँ पुस्तासम्म समेटिएको चौधरीले बताए।
सम्पूर्ण अटोक्षेत्र प्रतिनिधित्व गर्ने गरी चार पांग्रे, दुई पांग्रे, ब्याट्री, लुब्रिकेन्ट, टायर, स्पेयर, पार्टस्, हेभिइक्युपमेन्ट जस्ता सबै क्षेत्रलाई समेटेर प्यानल बनाइएको उनको भनाई छ।
नाडा सातवटै प्रदेशमा विस्तार भइ सकेको बताउँदै उनले प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो बनाउने आफ्नो प्यानलको उदेश्य रहेको बताए।
‘योभन्दा अगाडि मैले नाडामा दुई कार्यकाल बिताइसकेको छु। यो अवधिमा अटोमोबाइल व्यवसायीको हितविपरित एक कदम पनि चालेको छु भने म अध्यक्ष पदका लागि प्रत्यासी पनि हुँदिनँ,’ उनले भने।
नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष रहेका उनले राम्रो काम गरिरहेको र त्यसलाई नै निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे। आफू र आफ्नो प्यानललाई सबैले माया गर्नेमा विश्वस्त रहेको उनले बताए।
‘जित्छु भन्ने अहमता होइन विश्वास हो,’उनले भने। उनीसँग हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुब थापा प्रतिस्पर्धामा उत्रिनेछन्। मिलेसम्म आफूहरु सर्वसम्मतले जाने चौधरीले बताए।
उनको प्यानलमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, नीलमणी पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई छन्।