मारुती सुजुकीले आफ्नो चार पाङ्ग्रे उत्पादनको मूल्य वृद्धि गर्ने भएको छ। कम्पनीले बिहीबार उक्त घोषणा गरेको हो। जसअनुसार सन् २०२२को जनवरीदेखि गाडीको मूल्य बढ्नेछ।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार गाडी उत्पादन लागत उल्लेखनीय रूपमा बढेपछि कम्पनीले गाडीको बिक्री मूल्य पनि बढाउने भएको हो।
‘सवारी उत्पादन लागत बढेसँगै हामीले यसको बिक्री मूल्य पनि बढाउनुपर्ने भएको हो’, कम्पनीले एक आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै भनेको छ।
सुजुकीले आफ्नो विभिन्न मोडलको मूल्य विभिन्न चरणमा वृद्धि गर्नेछ। र वृद्धि दर पनि फरक हुनेछ। यसबाहेक कम्पनीले मूल्य वृद्धिको अन्य कारण खुलाएको छैन।
सुजुकीले यसअघि पनि गाडीको मूल्य वृद्धि गरेको थियो। कम्पनीले गत सेप्टेम्बरमा गाडीको मूल्य बढाएको हो। त्यसबेला पनि उत्पादन लागत र कच्चा सामग्रीको मूल्य बढेसँगै गाडीको बिक्री मूल्य बढेको कारण बताएको थियो। त्यसबेला विभिन्न मोडलमा एक हजार रूपैयाँदेखि २२ हजार ५० रूपैयाँसम्मले गाडीको मूल्य वृद्धि भएको थियो।
पछिल्लो केही समयदेखि अटो निर्माण कम्पनीहरूले विभिन्न खालका समस्या भोगिरहेका छन्। हाल थुप्रै कम्पनीहरू उत्पादन काम चिप्स अभावका कारण पनि रोकिएको छ। त्यस्तै स्टिल र म्यागनेसियम जस्ता कच्चा सामग्रीको अभावका कारण पनि अटो निर्माण कम्पनीहरूले उत्पादनमा समस्या भोगिरहेका छन्।