नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले बहु–प्रतिक्षित हेक्टर एसयुभि सार्वजनिक गरेको छ। आफ्नो नक्साल शोरुममा आज एक औपचारिक कार्यक्रममार्फत् उक्त हेक्टर सार्वजनिक गरेको हो।
उक्त कार्यक्रममा गाडीको मुल्य सार्वजनिक गरिएको छ। साथै ग्राहकहरुलाई गाडीको चाबी हस्तान्तरण पनि गरिएको छ। १.५ लिटर टर्बोचार्ज्ड इन्टरकूल इन्जिनयुक्त हेक्टर शाइन एमटी र सिभिटि दुवै भेरियन्टमा उपलब्ध छ।
हेक्टर एमटीको मुल्य ५९.९९ लाख र हेक्टर सिभिटिको मुल्य ६४.९९ लाख रहेको छ। एसयुभि क्याटेगरीमै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, र स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरू छन्।
एसयूभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने दाबी गरिएको छ। भारतमा बनेको यो एसयुभि नेपालस्थित सम्पूर्ण डिलरशिपहरुमा उपलब्ध छ।
यो हेक्टरको नयाँ मिड–स्पेक भेरियन्ट हो। जुन बजारमा उपलब्ध मिड साइज एसयुभिहरुको लो––स्पेक र टप–स्पेक ट्रिमहरू बीचमा छ। एमजी हेक्टर नेपालमा अत्यधिक माग भएको बहु–प्रतिक्षित एसयुभि हो। एमजी हेक्टरको आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधाहरूले ग्राहकहरूको अपेक्षालाई सम्बोधन गर्ने विश्वास गरिएको छ।
यसको नयाँ गेम–चेन्जर मोडलले एसयुभि लेगेसीलाई सुदृढ पार्दै लेटेस्ट् एसयुभि हाँक्ने ग्राहकहरुको चाहना पनि पुरा गर्ने कम्पनीको भनाइ छ।