फक्सवागनले भारतीय बजारमा नयाँ एसयुभी सार्वजनिक गरेको छ। कम्पनीले गत मंगलबार भारतमा २०२१ टाइगुन कम्प्याक्ट एसयुभी सार्वजनिक गरेको हो। भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार कम्पनीले गाडीको निर्माण काम महाराष्ट्रस्थित आफ्नो उत्पादन कारखानामा गर्दैछ।
नयाँ २०२१ फक्सवान टाइगुन एसयुभी थर्ड जेनेरेसन मोडल हो जुन विश्वस्थर बजारमा केही समयअघि नै सार्वजनिक भएको हो। यो गाडी पहिलोपटक गत मार्चमा सार्वजनिक भएको थियो। भारतमा पनि गाडी पहिले नै सार्वजनिक गर्ने योजना भएता पनि कोरोना महामारी र चिप्स अभावका कारण तालिकामा केही परिवर्तन आएको हो।
यो नयाँ एसयुभी एमक्युबी प्ल्याटफर्ममा आधारित छ। कम्पनीले गाडीको बाहिरी आवरण, डिजाइनिङसँगै इन्जिनमा समेत केही परिवर्तन गरेको छ। नयाँ टाइगुन एसयुभीमा २.० लिटर चार सिलिन्डर पेट्रोल मोटर इन्जिन जडित छ। जसले अधिकतम १९० एचपी पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ। गाडीमा ७ स्पीड डुअल–क्लच अटोमेटिक गियरबक्स छ।
फक्सवागनले टाइगुनको आवरणमा पनि केही अपग्रेड गरेको छ। यसको अगाडिको फ्रन्ट ग्रिल निकै सानधार हुनुका साथै गाडीमा एलइडी म्याट्रिक्स हेडल्याम्प छ। त्यस्तै यसमा एलइडी डेटाइम रनिङ लाइटहरू पनि छन्। गाडीको टेललाइट पहिलेको तुलनामा पातलो पनि छ।
गाडीको भित्री भाग फराकिलो छ। यसको अगाडि ड्यासबोर्डमा ठूलो इन्फोटेनमेन्ट सिस्टम छ। नयाँ टाइगुनमा प्यानारोमिक सनरूफ, एनरोइड अटो र एप्पपल कार प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोललगायत विशेषताहरू छन्।
सुरक्षाको हिसाबले हेर्दा गाडीमा ६ वटा एयर ब्याग, एबिएस प्रविधि, इएसपी, हिल डिसेन्ट कन्ट्रोल, रिअर–भ्यू क्यामरा र ड्राइभ अलर्ट प्रविधि छ।
नयाँ २०२१ फक्सवागन टाइगुन कमफर्टलाइन र हाइलाइन गरी दुई ट्रिममा उपलब्ध छ। नयाँ टाइगुन एसयुभीको मूल्य भारु २८ लाखदेखि सुरू हुन्छ। यो गाडीले बजारमा उपलब्ध हुन्डाईंको टुस्कन, सिट्रोन सी५ र जिप कम्पाससँग प्रतिस्पर्धा गर्नेछ।