हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाली बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ। कम्पनीले गत सोमबार फेसलिफ्टसहितको नयाँ विद्युतीय कोना सार्वजनिक गरेको हो।
हुन्डाईको कोनाले विगत दुई वर्षदेखि नेपालमा राम्रो बजार पाएको छ। यो विद्युतीय गाडी एक सफल क्रसओभर कारको रूपमा गनिन्छ। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार नयाँ विद्युतीय कोना फेसलिफ्टमा थुप्रै परिमार्जन भएर आएको छ।
नयाँ विद्युतीय कोनाको बाहिरी तथा भित्री डिजाइनिङमा अपग्रेड गरिएको छ। गाडीको ड्राइभिङ रेन्ज पनि बढेको छ। साथै यसमा सुरक्षा विशेषता र एड्भान्स कनेक्टिभिटी विशेषता थप गरिएको छ।
नयाँ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ बाई वायर प्रविधि तथा क्लाइमेट प्रि–सेटिङ जस्ता आधुनिक सुरक्षा विशेषता दिइएको छ।
बाहिरी आवरण हेर्दा हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डे टाइम रनिङ लाइट र ठूलो आकारको टेललाइट पाउन सकिन्छ। नयाँ कोना एक पटकको पुरा चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले दाबी गरेको छ।
नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी प्रविधियुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री छ। यो गाडीमा चालक एवम् यात्रुले निकै आरामदायी यात्रा पाउनेछन्।
गाडीमा ८ इन्चको टचस्क्रिन छ। जसमा भिजुअल न्याभिगेसन सिस्टम पनि छ। यसले ड्राभिङ अनुभवलाई यच्च स्तरीयको बनाउँन मद्दत गर्छ।
नेपाली बजारमा नयाँ विद्युतीय सेतो, साइबर ग्रे, ग्यालाटिक ग्रे, रातो, निलो र डार्क नाइट रंग विकल्पमा उपलब्ध हुनेछ। कम्पनीय यो नयाँ विद्युतीय कोनाको बजार मूल्य ५९ लाख ९६ हजार रूपैयाँ तोकेको छ।
पहिलाको कोनाले जस्तै यो नयाँ कोनाले समेत बजारमा राम्रो प्रतिक्रिया पाउनेमा कम्पनी सकारात्मक छ। लक्ष्मी इन्टरकन्टीनेन्टलले विद्युतीय सवारी साधनको लागि चार्जिङ स्टेसन निर्माण कामलाई देशभर विस्तार गर्दैछ।
हाल नेपालको विभिन्न ३६ स्थानमा चार्जिङ स्टेसन स्थापना भइसकेको छ। कम्पनीले यो वर्षभित्रै ५० स्थानमा चार्जिङ स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ।