टोयोटाले आफ्नो उत्पादनहरू विद्युतीकरण गर्नमा जोड दिदैँछ। जापानिज अटो निर्माण कम्पनी टोयोटाले सन् २०३० सम्ममा ३० वटा नयाँ विद्युतीय गाडी सार्वजनिक गर्ने समेत घोषणा गरेको छ।
मंगलबार मिडिया अन्तर्क्रिया गर्दै कम्पनीका अध्यक्ष अकिओ टोयोडाले कार्बन/तटस्थताको विस्तारको रणनीतिबारे बोलेका छन्।
उनले कार्बोनडाइअक्साइड इमिसन कम गर्नुपर्नेमा जोड दिएका हुन्। र, विद्युतीय गाडी निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
टोयोटाले केही समय अघि मात्रै आफ्नो बिजेड सिरिजअन्तर्गतको ब्याट्रीबाट चल्ने विद्युतीय बिजेड४एक्स गाडी सार्वजनिक गरेको थियो। कम्पनीले यसै बिजेड श्रृङ्खलालाई विस्तार गर्ने बताएको छ। योबाहेक कम्पनीले आरामदायी सानो कम्प्याक्ट विद्युतीय एसयुभी पनि सार्वजनिक गर्नेछ।
कम्पनीले विद्युतीय आफ्नो एसयुभीमा कार्य कुशलतालाई केन्द्रित गर्न खोजेको छ। त्यस्तै, टोयोटाले आफ्नो सम्पूर्ण विद्युतीय मिडसाइज सेडान र ठूलो एसयुभीहरूमा तीन–रो सिट राख्ने योजना बनाएको छ।
कम्पनीका अध्यक्ष टोयोडाले नै सन् २०३० सम्ममा ३० वटा विद्युतीय मोडलको गाडी सार्वजनिक गर्ने बताएका हुन्। उनले भनेका छन्, ‘सन् २०३० सम्ममा हामीले ३० वटा ब्याट्री विद्युतीय मोडल सार्वजनिक गर्ने योजना बनाएका छौं।’