नेपाली बजारमा सुजुकीको नयाँ गाडी सेलेरिओ सार्वजनिक हुँदैछ। कम्पनीले आइतबारदेखि नयाँ सेलेरिओको प्री-बुकिङ खुल्ला गरेको छ।
नेपालका लागि सुजुकी चार पाङ्ग्रेको आधिकारिक वितरक सिजी मोटोकर्पले आफ्नो फेसबुकमार्फत उक्त जानकारी घोषणा गरेको हो। कम्पनीले स्टाटसमा लेखेको छ, 'नयाँ सेलेरिओ- पर्फेक्ट फ्यामिली कार सार्वजनिक हुँदैछ।
जुन निकै आरामदायी, उच्च प्रदर्शनी र बढी सुरक्षित गाडी हुनेछ।' नयाँ सेलेरिओले २६.६८ किलोमिटरको माइलेज दिने बताइएको छ। जुन नेपालकै सबैभन्दा बढी माइलेज दिने कार हुनेछ। गाडीमा ३२ लिटरको इन्धन क्षमता छ।
९९८ सिसी क्षमता भएको यो गाडीमा १.० के१०सी इन्जिन जडित छ। जसले ५,५०० आरपिएममा ६७ पिएस पावर र ३,५०० आरपिएममा ८९ एनएमको टर्क जेनेरेट गर्छ। गाडीको बाहिरी र भित्री आवरण निकै स्टाइलिस छ।
यसको क्याबिन खुल्ला हुनुका साथै सिटमुनी हुने ठाउँ पनि फराकिलो छ। यसको इन्टेरिअर पुरै कालो रंगमा छ। गाडीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन छ।
यसमा ३१३ लिटरको डिकी क्षमता छ। गाडीमा २,४३५ एमएम ह्विलबेस छ। पाँच सिटर नयाँ सेलेरिओमा सुरक्षाको लागि एक दर्जनभन्दा बढी विशेषताहरू छन्। गाडीको अगाडि भागका पाङ्ग्रामा डिस्क र पछाडि ड्रम ब्रेक छ।
गाडीमा १५ इन्चको अलोय ह्विल पाउन सकिन्छ। सुजुकीको यो नयाँ सेलेरिओको सुरुवाती मूल्य २७ लाख ९९ हजार रुपैयाँ तोकेको छ। गाडी दुई मोडलमा सार्वजनिक हुनेछ- सेलेरिओ भिएक्सआई र सेलेरिओ जेडएक्सआई। भिएक्सआईको मूल्य २७ लाख ९० हजार तोकिएको हो भने जेडएक्सआईको मूल्य २९ लाख ९० हजार रुपैयाँ तोकिएको छ।