बेनेली इन्डियाले भारतीय बजारको लागि नयाँ बाइक सार्वजनिक गरेको छ। कम्पनीले गत बिहिबार आफ्नो इन्ट्री/लेभल एड्भेन्चर मोटरसाइकल टिआरके सिरिजअन्तर्गतको टिआरके–२५१ सार्वजनिक गरेको हो। जसको सुरुआती मूल्य भारु २ लाख ५१ हजार तोकेको छ।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार कम्पनीले बाइकको बुकिङ समेत खुल्ला गरिसकेको छ। यसबाहेक बाइकको डेलिभरी पनि छिट्टै सुरू हुनेछ।
२५० सिसी डिसप्लेसमेन्ट भएको नयाँ टिआरके २५१मा चार स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन जडित छ। जसले ९,२५० आरपिएममा अधिकतम २५.८ पिएस पावर र ८,००० आरपिएममा २१.१ एनएम टर्क जेनेरेट गर्छ। बाइकमा ६ स्पीड ट्रान्समिसन छ।
नयाँ सार्वजनिक बेनेलीको टिआरके २५१मा १८ लिटरको इन्धन क्षमता छ। त्यस्तै बाइकको ग्राउन्ड क्लेरेन्स १७० एमएम छ। यसको अगाडि भागमा अपसाइड/डाउन टेलिस्कोपिक फोर्क छ। यी विशेषताका कारण पनि बाइकलाई कच्ची बाटोमा सहजै चलाउन सकिन्छ।
बिहिबार बाइक सार्वजनिक गर्दै कम्पनीका प्रबन्ध निर्देशक विकास झबाखले भने, ‘भारतमा आज हाम्रो योङ्ग एडभेन्चर मेसिन लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौं।’ उनका अनुसार टिआरके २५१को डिजाइन निकै उद्देश्यपूर्ण छ भने यसको स्टाइल पनि अग्रेसिभ छ। बाइकको प्रदर्शनी समेत आकर्षक हुने उनले दाबी गरेका छन्।
टिआरके २५१को सार्वजनिकसँगै कम्पनीले अन्य मोडलका बाइकहरू पनि सार्वजनिक गर्ने बताएको छ। यो बाइक सेतो, कालो र ग्रे गरी तीन विभिन्न रंगमा उपलब्ध हुनेछ। यसले रोयल इन्फिल्डको हिमालयन बाइकसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ।