भारतका प्रायः कार तथा बाइक निर्माण कम्पनीले आफ्नो उत्पादनको मूल्य बढाउने घोषणा गरेका छन्। कम्पनीहरूले विभिन्न कारण देखाउँदै सन् २०२२ को जनवरीदेखि उत्पादनको मूल्य बढाउने बताएका हुन्। उत्पादन मूल्य बढाउने केही कम्पनीहरूको सूची यस प्रकार छः
मारुती सुजुकीः भारतीय अटोमोबाइल उत्पादक मारुती सुजुकीले सन् २०२२ को जनवरीदेखि आफ्नो सम्पूर्ण उत्पादनको मूल्य बढाउने बताएको छ। अटो हिन्दुस्तानका अनुसार कम्पनीले केही समय अघि नै उक्त घोषणा गरेको हो। यसमा सुजुकीले उत्पादन लागत बढेसँगै कम्पनीद्वारा उत्पादित गाडीको मूल्य बढाउनुपर्ने कारण देखाएको छ।
हिरो मोटोकर्पः भारतको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे सवारी निर्माण कम्पनी हिरो मोटोकर्पले सन् २०२२ को जनवरी ४ तारिखदेखि बाइक तथा स्कुटरको मोडलको मूल्य बढाउँदैछ। कम्पनीले कच्चा सामग्रीको मूल्यदर लगातार बढेको उल्लेख गर्दै बाइक र स्कुटरको मूल्य परिमार्जन गर्नुपरेको बताएको छ।
टाटा मोटर्सः टाटा मोटर्सले पनि जनवरीदेखि नै आफ्नो उत्पादनहरूको मूल्य बढाउँदैछ। अटो हिन्दुस्तानका अनुसार कम्पनीले यसको विद्युतीय गाडीहरूको मूल्य पनि बढाउने छ।
डुकाटी इन्डियाः डुकाटी इन्डियाले जनवरी १ तारिखदेखि लागु हुनेगरी आफ्नो सम्पूर्ण मोडल तथा भेरियन्टको मूल्य बढाउँदै छ।
औडी इन्डियाः लक्जरी कार निर्माण कम्पनी औडी इन्डियाले पनि यही जनवरी १ तारिखदेखि आफ्नो मोडलहरूको मूल्य बढाउँदैछ। कम्पनीले हरेक मोडलको मूल्यमा ३ प्रतिसतले मूल्य बढाउने बताएको छ।
टोयोटाः गाडीको मूल्य बढाउने कम्पनीमध्ये टोयोटा पनि अगाडि छ। औडी इन्डिया जस्तै टोयोटाको मूल्य जनवरी १ देखि बढ्नेछ। कम्पनीले गत महिनामा सार्वजनिक गरेको विज्ञप्तिमा कच्चा सामग्रीको मूल्य वृद्धिसँगै गाडी निर्माण लागत बढेको र यसै कारण उत्पादनको मूल्य बढाउने उल्लेख गरेको छ।
कवासाकीः डुकाटीसँगै कवासाकीले पनि आफ्नो मोडलहरूको मूल्य बढाउँदैछ। कम्पनीले गत अगस्टमा आफ्नो केही मोडलका बाइकहरूमा मूल्य वृद्धि गरेको थियो। यस पटक भने कम्पनीले सम्पूर्ण मोडलमा मूल्य वृद्धि गर्दैछ।
यीबाहेक सिट्रोन इन्डिया, स्कोडा र फक्सवागन कम्पनीले पनि गाडीको मूल्य बढाउने छन्। भारतमा गाडीको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रतक्ष असर देखिनेछ। किनकि नेपालमा प्रायः ब्रान्डले भारतमा निर्मित र उत्पादित गाडी नेपाली बजार भित्र्याइरहेका छन्।