नेपालमा बेनेलीको प्रिमियम स्कुटर पानारिया–१२५ सार्वजनिक भएको छ। नेपालको लागि बेनेलीको आधिकारिक वितरक केटिएम इन्टरनेसनलले गत शुक्रबार एक कार्यक्रममा नयाँ स्कुटर सार्वजनिक गरेको हो। पानारिया–१२५ सार्वजनिक भएसँगै बेनेली स्कुटर सेगमेन्टमा प्रवेश गरेको छ।
‘बेनेलीको पानारिया–१२५ एक प्रिमियम स्कुटर हो। यो नेपाली ग्राहकको लागि उपयुक्त हुनुका साथै यसले प्रिमियम स्कुटरको माग पुरा गर्नेमा हामी आशावादी छौुं, कम्पनीका निर्देशक उदिप श्रेष्ठले भने।
निर्देशक उदिपका अनुसार बेनेलीले भविष्यमा सारदा ग्रुप र गोल्छा ग्रुपसँग सम्वन्वयमा काम गर्नेछ।
१२५ सिसीको यो स्कुटरमा सिंगल–सिलिन्डर, ४ स्ट्रोक, एयर–कुल्ड इन्जिन जडित छ। जसले ७५०० आरपीएममा ८.५ पीएसको पावर र ६००० आरपीएममा ९.२ एनएम टर्क जेनेरेट गर्छ। इटालियन डिजाइन रहेको पानारिया नियो–रेट्रो स्कुटर हो। स्कुटरमा एनलग र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ।
कम्पनी स्कुटरको डिजाइनसँगै यसको सुरक्षामा समेत विशेष ध्यान पुर्याएको छ। स्कुटरमा १२ इन्चको ट्युबलेस टायर छ। यसको अगाडि भागमा टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन छ। पछाडि भागमा रिअर स्विङ आर्म सस्मेन्सन छ। स्कुटरमा ‘किल स्वीच’ जस्तो विशेषता पनि समावेश गरिएको छ।
स्कुटरमा पुरै एलइडी लाइट पाउन सकिन्छ। यसको अगाडि डिआरएल हेडलाइन्ट छ। स्कुटरमा १२ लिटरको डिकी छ। त्यस्तै यसमा ४.६ लिटरको इन्धन क्षमता छ भने स्कुटरले प्रति लिटर ४० देखि ५० किलोमिटरको माइलेज दिने बताइएको छ।
नयाँ पानारिया–१२५ सेतो, कालो, निलो र पहेंलो गरी चार रंग विकल्पमा उपलब्ध छ। कम्पनीले यो स्कुटरको मूल्य तीन लाख ३५ हजार रुपैयाँ तोकेको छ।