भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले ट्रायल सेन्टरका सवारी परीक्षण गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएकी छन्।
मंगलबार विभाग निरीक्षण गर्दै मन्त्री यादवले सवारीको अवस्था परीक्षण गर्न निर्देशन दिएकी हुन्।
‘सवारी एकदमै पुराना छन् भन्ने कुरा सुनिएको छ। अवस्था कस्तो छ एक पटक परीक्षण गराउनुस्,’ यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई निर्देशन दिँदै उनले भनिन्।
महानिर्देशक घिमिरेले केही दिनमै सवारीको अबस्था जाँचबुझ टोलिसहित जाने बताए।
मन्त्री यादवले विभागमा स्मार्ट तथा परीक्षणकालीन लाइसेन्स बनाउने मेसिन निरीक्षण गरिन्।
त्यस्तै उनले इम्बोस्ड नम्बर प्लेटबारे समेत जानकारी लिइन्।
सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गरे सवारीधनीलाई धेरै फाइदा पुग्ने उनले बताइन्।
‘सवारी चोरी भयो भने कसले कता लैजाँदैछ भन्ने जानकारी हुने भयो। यो प्लेट सबैले अनिवार्य जडान गर्नुपर्छ,’ उनले भनिन्।
मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले इम्बोस्ड नम्बर जडान प्रकृया सहज बनाउन निर्देशन दिए।
‘यो झन्झटिलो भएको कुरा आइरहेको छ,’ उनले भने, ‘दिनहुँ धाउनु पर्ने अबस्था रहेछ। यसलाई सहज बनाउनु पर्यो।’