यतिबेला सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन प्रणाली बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बन्द छ। त्यो पछिको समयमा पनि भनेको बेला वेवसाइट खुल्दैन। जसले गर्दा सेवाग्राहीहरुमा हैरानी थपिएको छ।
यातायात व्यवस्था विभागमै गएर आवेदन दिन मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा धेरैको छ। यसबारे हामीले विभागका सूचना अधिकारी लोकनाथ भुसालसँग कुरा गरेका छौँ।
भुसालले आवेदनको काम अनलाइन मात्रै भएको बताए।
‘अनलाइन आवेदन प्रणाली सुरु भएपछि हामीले अफलाइन सेवा दिदैनौँ। विभागमा आएर आवेदन दिन्छु भनेर पाइँदैन,’ उनले सेतोपाटीसँग भने।
सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा अधिक चाप भएर यातायात व्यवस्था कार्यालयहरूबाट हुने दैनिक सवारी चालक अनुमतिपत्र सम्बन्धी कार्यमा असर परेकोले सो समयमा बन्द गरिएको विभागले जानकारी दिएको छ।
सेवाग्राहीको हितलाई ध्यानमा राखी सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिएको विभागको भनाई छ।
विभागका अनुसार प्रणालीको लोड व्यवस्थापनको कार्य सम्पन्न भएपछि अनलाइन आवेदन प्रणाली यथावत संचालन हुनेछ। अझै अत्याधिक चाप रहेका कारण सिस्टम अपग्रेड नभइसकेको विभागको भनाई छ।