संसारको सबैभन्दा ठूलो दुुई पांग्रे सवारी साधन उत्पादन कम्पनी हिरो मोटोकर्पले सन् २०२१ मा नयाँ रेकर्ड बनाएको छ। कम्पनीले यस आर्थिक वर्षमा मात्रै जम्मा २ लाख ८९ हजारवटा दुई पांग्रे बिक्री गरेको छ।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार विभिन्न चुनौति बावजुत सन् २०२१ मा कम्पनीले संसारभर सबैभन्दा बढी सवारी बिक्री गरेको हो। कम्पनीले सन् २०२१ को डिसेम्बरमा भारतमा मात्रै ३ लाख ९४ हजार ७ सय ७३ वटा बाइक बिक्री गर्यो।
हिरो मोटोकर्पले एशिया, अफ्रिका, दक्षिण अमेरिका, मध्य अमेरिका र क्यारेबियन क्षेत्रमा आफ्नो उत्पादनको बिक्री विस्तार गरेको छ। जसले गर्दा भारत बाहिरको बजारमा कम्पनीको बिक्रीमा ७१ प्रतिशतले बृद्धि दर्ता गर्न मद्दत गर्यो।
'सन् २०२१ मा हाम्रो विश्वव्यापी बजारको भोल्युम योजना अनुरूप छ। हामी सन् २०२५ सम्ममा कुल मात्राको १५ प्रतिशतले बढी कमाउने लक्ष्य पूरा गर्ने बाटोमा छौं,' हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमुख सञ्जय भानले भने।
हाल हिरो मोटोकर्पले झन्डै ४२ राष्ट्रमा आफ्नो उत्पादन निर्यात गर्दैछ। कम्पनीले इन्धनबाट चल्नेबाहेक हाल ब्याट्रीबाट चल्ने सवारी विकासमा पनि काम गर्दैछ। सन् २०२२ को मार्चमा कम्पनीले आफ्नो पहिलो विद्युतीय दुई पांग्रे सार्वजनिक गर्ने बताएको छ। जसको उत्पादन प्लान्ट आन्द्रा प्रदेशको चित्तोरमा छ।