मर्सिडिज-बेन्जले आफ्नो नयाँ विद्युतीय कन्सेप्ट कारको अनावारण गरेको छ। जर्मन अटो कम्पनी मर्सिडिज-बेन्जले मंगलबार लस भेगसमा भएको कन्ज्युमर इलेक्ट्रोनिक्स शो २०२२ मा आफ्नो कन्सेप्ट कार 'भिजन इक्युएक्सएक्स' सार्वजनिक गरेको हो।
इलेट्रेकका अनुसार यो विद्युतीय कारले एक पटकको पुरा चार्जमा ६२० माइल्स, अर्थात् झन्डै एक हजार किलोमिटरको माइलेज दिन्छ। यो विद्युतीय भिजन इक्युएक्सएक्स एक यथार्थवादी अवधारणामा निर्मित कार हो, जसले नवीकरणीय कच्चा सामग्रीहरू प्रयोग गरेको छ।
भिजन इक्युएक्सएक्सको डिजाइन प्राकृतिक आकारबाट प्रेरित भएको कम्पनीले बताएको छ। यसको डिजाइन हाल बजारमा उपलब्ध मर्सिडिज-बेन्जभन्दा निकै फरक छ। आवरणसँगै यो गाडीको तौल पनि हलुका छ। यसमा म्याग्नेसियम धातुको पांग्रा र कार्बन फाइबरको ढोकाहरू छन्। गाडीको कुल तौल जम्मा १७ सय ५० किलोग्राम छ।
यसमा ९०० भोल्टको ब्याट्री प्रविधि प्रयोग गरिएको छ। गाडीमा प्रयोग भएको ब्याट्री तौल भने जम्मा ४९५ किलाेको छ।
'उच्च-स्तरको विद्युतीय गाडी निर्माण र उत्पादन गर्ने काम सजिलो लाग्न सक्छ। तर यो प्राविधिक रुपमा निकै गार्ह्रो छ। विद्युतीय कारको दक्षता बढाउने सबैभन्दा सरल तरिका यसमा ठूलो ब्याट्री प्रयोग गर्ने भन्ने हुन्छ। तर यसको आकार र तौलका कारण गाडी निर्माणमा समस्या सिर्जना हुन्छ,' मर्सिडिज-बेन्जका सवारी साधन एकीकरण निर्देशक जोर्ग बार्टेलले भनेका छन्, 'भिजन इक्युएक्सएक्स परियोजनासँगै हामीले गाडीको दक्षता बढाउने नयाँ तरिका पत्ता लगाएका छौं। यसैसँग हामी आफ्नो सीपलाई स्तरवृद्धि गर्दैछौं।'
नयाँ कन्सेप्ट कारको आन्तरिक डिजाइन पनि सानदार देखिन्छ। यसमा ४७.५ इन्च भएको ८ के टचस्क्रिन छ। गाडीमा पुरै एआई प्रविधि छ। यसले रिअल-टाइम थ्रीडी नेभिगेसन पनि सपोर्ट गर्छ।
मर्सिडिज-बेन्जले केही समय अघि मात्रै सन् २०३० सम्ममा आफ्नो सम्पूर्ण उत्पादन विद्युतीय बनाउने घोषणा गरेको थियो।