टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी यात्रुबाहक गाडी बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ। सन् २०२१ को डिसेम्बरसम्मको तथ्यांकअनुसार टाटाले हुन्डाई कम्पनीलाई पछि पार्दै भारतीय बजारमा यो स्थान ओगटेको हो।
यसभन्दा अघि हुन्डाईले बजारमा टाटाको तुलनामा बढी गाडी बिक्री गरेको थियो।
टाटा मोटर्सले अक्टोबरदेखि डिसेम्बरको त्रैमासिकमा ९९ हजार गाडी बिक्री गरेको छ भने सन् २०२१ को अन्तिम दिनसम्ममा जम्मा ३ लाख ३१ हजार वटा गाडी बिक्री गरेको छ।
बजारमा सेमिकन्डक्टरको अभावका कारण उत्पादनमा कमि देखिए पनि टाटा मोटर्स लिमिटेडका प्यासेन्जर भेहिकल बिजनेस युनिटका अध्यक्ष सैलेस चन्द्रले कम्पनीको यात्रुबाहक सवारीको व्यवसायले त्रैमासिक अवधिमा नयाँ कोसेढुङ्गा कायम गरेको बताएका छन्।
टाटा मोटर्सले सन् २०२१ मा विद्युतीय गाडीको समेत बिक्री बढाएको छ। कम्पनीले २०२१ अन्तिमसम्ममा मात्रै कुल २२ हजार ५ सय ५५ वटा विद्युतीय गाडी बिक्री गरेको छ। अघिल्लो आर्थिक वर्षको त्रैमासिकमा जम्मा १.८ प्रतिशत विद्युतीय गाडी बिक्री गरेको टाटाले यस वर्षको त्रैमासिकसम्ममा विद्युतीय गाडीको बिक्री ५.६ प्रतिशतले बढाएको हो।
'टाटा मोटर्सको गत आर्थिक वर्षको तुलनामा २०२१ मा कम्पनीको सेल्समा ठूलो परिवर्तन देखिएको छ,’ अध्यक्ष सैलेसले भनेका छन्, ‘कम्पनीले सन् २०२१ मा कुल ३ लाख ३१ हजार १ सय ७८ वटा गाडी बिक्री गरेको छ। टाटाले यात्रुबाहक सवारी साधनको व्यवसाय स्थापना सुरू गरेदेखिको यो अहिलेसम्मकै उच्च बिक्री तथ्यांक हो।’