जापानी बहुराष्ट्रिय कम्पनी सोनी ग्रुपले विद्युतीय गाडी उत्पादन सुरु गर्ने भएको छ।
विशेष विद्युतीय ग्याजेट्स र अन्य उपकरणहरूको लागि परिचित ब्रान्ड सोनीले सन् २०२२ सम्ममा विद्युतीय गाडी सार्वजनिक गर्ने योजना बनाएको हो।
सिएनएन बिजनेसका अनुसार सोनी ग्रुपले गाडी उत्पादनको लागि नयाँ कम्पनी, सोनी मोबिलिटी इंक पनि स्थापना गर्नेछ। यो व्यापार इकाई नयाँ एआई र रोबोटिक्स उपकरण र प्रविधिहरूको विकासको लागि सक्रिय हुनेछ। सोनी मोबिलिटी इंक यही मार्च अथवा अप्रिलदेखि सञ्चालनमा आउने अनुमान लगाइएको छ।
सोनीले झन्डै दुई वर्ष अघि सन् २०२० को डिसेम्बरमा आफ्नो पहिलो प्रोटोटाइप गाडी, 'भिजन-एस ०१' सार्वजनिक गरेको थियो। जसको परिक्षण युरोपमका सडकहरूमा गरियो। यो भिजन-एस ०१ क्लाउड प्लेटफर्ममा आधारित थियो। कम्पनीद्वारा जारी विज्ञप्तिका अनुसार नयाँ विद्युतीय गाडी पनि यही प्लेटफर्ममा आधारित हुनेछ।
सोनीले विद्युतीय गाडी सार्वजनिक गर्ने बताए पनि यसले पूर्ण रुपमा आफ्नै ब्रान्डअन्तर्गत कारहरू निर्माण गर्ने वा अन्य कम्पनीहरूसँगको साझेदारी गाडी सार्वजनिक गर्नेबारे खुलाएको छैन।
कम्पनीले विद्युतीय गाडी उत्पादन गर्ने घोषणासँगै यसको सेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ। द गार्डियनका अनुसार बुधबार सोनीको सेयर ३.७ प्रतिशतले उकालो लागेको छ।