फोर्स मोटर्सले भारतीय बजारमा अफ-रोड एसयुभी गोर्खाको मूल्य बढाएको छ। कम्पनीले यही जनवरीदेखि लागु हुने गरी गाडीको मूल्य बढाएको हो।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार कम्पनीले गोर्खाको मूल्य ५१ हजार भारुले बढाएको छ। उक्त एसयुभी सार्वजनिक हुँदा यसको मूल्य १३ लाख ५९ हजार भारु तोकिएको थियो। अब भने गाडीको मूल्य १४ लाख १० हजार भारु पुगेको छ।
फोर्स मोटर्सले गोर्खा एसयुभी गत सेप्टेम्बर २७ मा सार्वजनिक गरेको थियो। र, यसले महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्दैछ। थारको तुलनामा गोर्खा एसयुभी सस्तो थियो। तर अहिले भारतमा महिन्द्रा थार १३ लाख ६९ हजार रुपैयाँमा बिक्री हुँदैछ। यसर्थ अहिले महिन्द्रा थारको तुलनामा फोर्स गोर्खा महंगो भएको छ।
गोर्खा एसयुभी आधुनिक फिचरहरूले भरिपूर्ण छ। यसमा २.६ लिटर डिजेल इन्जिन जडित छ। जसले ३,२०० आरपिएममा ६७ किलोवाट पावर र १,४००-२,४०० आरपिएममा २५० एनएम टर्क जेनेरेट गर्छ। उक्त इन्जिन बिएस-६ कम्प्लाइन्टमा आधारित छ।
यसको बाहिरी आवरणमा समेत निकै सुधार गरिएको छ। एसयुभीको अगाडि भागको फ्रन्ट ग्रिल नयाँ ढंगको छ भने पुरै एलइडी डिआरएलसहितको हेडलाइट पाउन सकिन्छ। यसमा १६ इन्चको अलोय ह्विल छ र २,४०० एमएम ह्विलबेस छ। गाडीमा ५ सय लिटरको डिकी स्पेस छ।
सुरक्षाको लागि गाडीमा एयरब्याग, रिअर पार्किङ सेन्सर, वान टच लेन इन्डिकेटर, कर्नरिङ ल्याम्प, स्पिड सेन्सिङ अटो डोर लक, टायर मोनिटरिङ प्रविधिलगायत विशेषताहरू छन्।
फोर्स गोर्खा कच्ची बाटो र विशेष एड्भेन्चर खालका यात्रा रुचाउने व्यक्तिहरूको लागि निकै उपयुक्त एसयुभीमध्ये पर्छ।
गोर्खा नेपाल भित्रने तयारीमा रहेको प्रतिक्षित एसयुभी भएको बताइएको छ।