निशान इन्डियाले भारतीय बजारको लागि म्यागनाइट र किक्सको मूल्य बढाएको छ। कम्पनीले मंगलबारदेखि लागू हुनेगरी गाडीको मूल्य बढाएको हो। म्यागनाइट र किक्सका केही भेरियन्टहरूमा भारतीय २५ हजार रुपैयाँसम्मले मूल्य वृद्धि भएको अटो हिन्दुस्तानले जनाएको छ।
कम्पनीका अनुसार उत्पादन लागतमा मूल्य बढेसँगै गाडीको मूल्य बढाउनु परेको हो। हाल कच्चा सामग्री र चिप्स अभावका कारण सवारी साधन निर्माता कम्पनीहरूले विभिन्न चुनौतिको सामना गर्नुपरेको छ।
भारतमा निशान म्यागनाइट सन् २०२०को डिसेम्बरमा सार्वजनिक भएको हो। त्यसबेला म्यागनाइट ४ लाख ९९ हजार भारुमा सार्वजनिक गरिएको थियो। अहिले यसको सुरुवाती मूल्य ५ लाख ७६ हजार भारुदेखि ९ लाख ९८ हजार तोकिएको छ।
त्यस्तै, किक्स भारतमा पहिलो पटक सार्वजनिक हुँदा यसको सुरुवाती मूल्य ९ लाख ४९ हजार भारु तोकिएको थियो। अहिले यसको केही भेरियन्टको मूल्यमा २० हजारदेखि २५ हजार भारुले बढेको छ।
निशान म्यागनाइट र किक्स भारतमा मात्र नभइ नेपालमा पनि उत्तिकै रुचाइएको गाडी हुन्। हाल नेपाली बजारमा म्यागनाइटको सुरुवाती मूल्य ३० लाख ९९ हजार पुगेको छ। निशानको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले गत साउन महिनादेखि म्यागनाइटको मूल्य बढाएको हो। नेपाली बजारमा पहिलो म्यागनाइनट सार्वजनिक हुँदा यसको सुरुवाती मूल्य जम्मा २९ लाख ४९ हजार थियो।
त्यस्तै, अहिले बजारमा किक्सको सुरुवाती मूल्य ४८ लाख ९९ हजार तोकिएको छ। नेपालमा किक्सको विभिन्न ट्रिम ८ वटा आकर्षक रंग विकल्पमा उपलब्ध छ।
यस्तो छ निशान म्यागनाइटः
१.० लिटर बि४डी पेट्रोल म्यान्युअल ट्रान्समिसन र १.० लिटर एचआरएओ टर्बो पेट्रोल म्यान्युअल ट्रान्समिसनमा उपलब्ध म्यागनाइट विभिन्न ११ वटा भेरिएन्टमा छ।
सुरक्षाको लागि यसमा डुअल एयरब्याग, एबिएस, इबिडी, सिट बेल्ट रिमाइन्डर, एलइडी फ्रन्ड फग ल्याम्प, स्पिड सेन्सिङ लक, रेयर क्यामेरा विथ प्रोजेक्सन गाइड, हिल स्टार्ट असिस्ट, रिमोट किलेस इन्ट्री लगायतका फिचर्स समावेस गरिएको छ।
म्यागनाइटमा एलइडी प्रोजेक्टर हेडल्याम्प, स्ल्कि हेड ल्याम्प, एडजस्टेवल सिट, पावर विन्डो, पावर स्टेरिङ, एयर कन्डिसनर विथ हिटर, क्रुज कन्ट्रोल, वायरलेस चार्जर, एयर प्युरिफायरलगायतका विशेषता दिइएको छ।त्यसैगरी, यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी पनि दिइएको छ। इन्स्ट्रुमेन्ट क्लस्टरका लागि ७.० इन्च टिएफटी डिस्प्ले छ।
२०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएको यो गाडीमा ३३६ लिटर बुट स्पेस छ। म्यागनाइट विभिन्न ८ वटा रंगमा उपलब्ध छ।
यस्तो छ निशान किक्सः
पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध किक्स पेट्रोलमा १४ सय ९८ सिसी र डिजेलमा १४ सय ६१ सिसीमा उपलब्ध छ। पेट्रोल इन्जिनको किक्स ५ स्पिड म्यानुअल ट्रान्समिसन र डिजेल इन्जिनको किक्स ६ स्पिड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ।
सुरक्षाको लागि यसमा एबिएस विथ इबिडी र ब्रेकिङ असिस्टेन्स, एयरब्याग, रेयर डिफगर, रेयर भ्यु क्यामरा, रेयर पार्किङ सेन्सर, भेइकल डाइनामिक कन्ट्रोल, हिल स्टार्ट असिस्ट लगायतका विशेषता छन्।
यसमा ८ इन्चको टच स्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, भ्वाइस रिकग्निसन, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, गाडी स्टार्टको लागि साँचो नचाहिने स्मार्ट कार्ड, एलइडी प्रोजेक्टरको हेड ल्याम्प, कुल र इलुमिनेटेड ग्लोभ बक्स लगायत विशेषता पनि समावेस गरिएको छ।
किक्स ८ ओटा आकर्षक रंगमा उपलब्ध छ। सामान राख्नको लागि यसमा ४ सय लिटरको बुट स्पेस दिइएको छ भने २१ सेन्टिमिटरको ग्राउण्ड क्लियरेन्स छ।
भारतीय बजारमा म्यागनाइट र किक्सको मूल्य बढेसँगै नेपाली बजारमा पनि यी गाडीहरूको मूल्य बढ्ने अनुमान छ।