टाटा टिगोेर विद्युतीय सेडान सेग्मेन्टमा चाँडै नेपाली बजारमा आउने भएको छ। टाटा मोटर्सले केही महिनाअघि मात्रै भारतीय बजारमा विद्युतीय सेडान सेग्मेन्टमा टाटा टिगोर सार्वजनिक गरेको छ।
टिगोर इभीले पनि छोटो समयमै राम्रो बजार पाएको कम्पनीले बताएको छ। झन्डै तीन महिना सार्वजनिक टिगोर इभी जिपट्रोन प्रविधिमा आधारित छ। जुन २६ किलोवाटको लिक्विड–कुल्ड, उच्च उर्जा घनत्व, ब्याट्री प्याक र आइपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ। यसले गर्दा गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ। गाडीमा जडित विद्युतीय मोटरले ७४ बिएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ।
यसको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ। यसलाई १५ एएमपी प्लगबाट पनि चार्ज गर्न सकिन्छ। अर्थात् गाडीलाई हाम्रो घर वा कार्यलयमा हुने चार्जिङ पोर्टबाट सजिलै चार्ज गर्न सकिन्छ। यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा यो ८० प्रतिशतले चार्ज हुन्छ। गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ।
भारतमा जस्तै नेपाली बजारमा टिगोर ईभी डेटोन ग्रे र टिल ब्लू गरी दुई वटा रंग विकल्पमा उपलब्ध हुनेछ। यो डुअल–टोन विकल्पमा उपलब्ध गराएमा यसको माथिल्लो भाग (रुफ) भने कालो रंगको हुनेछ। गाडीको ग्रिलमुनी निलो रंगले रेखा कोरिएको देखिन्छ जसले गर्दा यो विद्युतीय भनेर परैबाट छुट्याउन सकिन्छ।
यसको अगाडि भागमा पुरै एलइडी डिआरएल लाइटले गाडीलाई झनै आकर्षक बनाएको छ। पाङ्ग्राहरू पनि निकै स्टाइलिस छन्। यसको पछाडि हेर्ने रिअर भ्यू ऐनाहरू पनि फोल्डेबल छन्। डिकी खोल्ने ठाउँमा जिपट्रोन लेखिएको ब्याच पनि देख्न सकिन्छ। यसमा ३१६ लिटरको बुट स्पेस छ।
गाडीको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल–टोन छ। सिट ग्रेनाइट कालो रंगमा छन्। यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटो एसी, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायत विशेषता छन्।
त्यस्तै, गाडीमा स्मार्ट की पुस–बटन स्टार्ट छ। पोर्टेबल चार्जिङ केबल पनि छ। चालक र यात्रु सहजताको लागि ३० भन्दा बढी कनेक्टिभिटी विशेषताहरू छन्। कम्पनीले डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ।
टिगोर इभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ। जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ। त्यसै बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको छ।
गाडीमा २,४५० एमएम ह्विलबेस र १७२ एमएम ग्राउन्ड क्लेरेन्स छ। ब्याट्री र मोटरमा ८ वर्षको अर्थात् १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ।
नेपाली बजारमा टाटाको दुई वटा विद्युतीय मोडल उपलब्ध हुने कम्पनीको भनाई छ। नेपालमा नेक्सन इभी सन् २०२१को मध्यतिर सार्वजनिक भइसकेको छ।
यो एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन ट्रिममा उपलब्ध छ। कम्पनीले भारतीय बजारमा यसको एक्सई भेरियन्टको मूल्य भारु ११ लाख ९९ हजार, एक्सएम भेरियन्टको मूल्य १२ लाख ४९ हजार, एक्सजेड प्लसको मूल्य भारु १२ लाख ९९ हजार र एक्सजेड प्लस डुअल टोनको मूल्य १३ लाख १४ हजार भारु तोकेको छ ।
नेपालमा भने हालसम्म यसको मूल्य कति पर्नसक्छ भन्ने अनुमान गरिएको छैन।नेपाली बजारमा सर्वाधिक बिक्री हुने सेडानमध्ये टाटाको टिगोर पर्छ। पाँच सिटर कम्प्याक्ट सेडान टिगोरले बजार प्रवेश गरे सँगै ग्राहकमाझ लोकप्रियता कमाएको हो। टाटा टिगोर सन् २०१७ मा सार्वजनिक भएको हो। नेपालमा भने यो सन् २०१८ को अन्त्यतिर सार्वजनिक भएको थियो।