यात्री बाइकको पी-१ मोडलको पहिलो स्टक सकिन लागेको छ। नेपालमै बनेको यात्री मोटरसाइकलले हाल बजारमा विद्युतीय पी-० र पी-१ अर्थात् प्रोजेक्ट जिरो र प्रोजेक्ट वान गरी दुई मोडलका बाइक बिक्री गर्दैछ। यस्तैमा पहिलो चरणमा निर्माण भएको पी-१ को स्टक सकिन लागेको कम्पनीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिएको हो।
कम्पनीले फेसबुक स्टाटसमा लेखेको छ, 'प्रदर्शन, शैली र रमाइलोको एक मिश्रण!'। योसँगै कम्पनीले बाइकको मूल्य पनि उल्लेख गरेको छ। कम्पनीले पी-१ को बजार मूल्य ४ लाख ९५ हजार रुपैयाँ तोकेको छ।
यात्रीका संस्थापक बात्सल पाण्डेका अनुसार सन् २०२१को मध्येदेखि कम्पनीले पी-१ को बिक्री शुरु गरेको हो। कम्पनीले पहिलो चरणमा एक सय वटा बाइक निर्माण गर्यो। छोटो समयमै यसले बजार पनि लियो। त्यसैले सन् २०२२ को पहिलो त्रेमासमै बाइक सोल्ड-आउट हुन लागेको हो।
उनका अनुसार यात्रीको यो पी-१ बाइक १० हजार रुपैयाँ प्रि-डिपोजिट गरेर अनलाइनमार्फत बुकिङ गर्न सकिन्छ। बाइकको डेलिभरी भने यही फेबुअरी अन्तिमदेखि गरिने उनले जानकारी गराए।
यात्रीको यो विद्युतीय पी-१ मा तीन किलोवाटको लिथियम आयन ब्याट्री छ, जसले १९ एचपी पावर र ४३० एनएम टर्क जेनेरेट गर्छ। बाइकमा ३२० एमएम ग्राउन्ड क्लेरेन्स छ। त्यस्तै, यो बाइकलाई पूरा चार्ज हुन जम्मा २ घण्टा लाग्छ भने एक पटकको पूरा चार्जमा ११० किलोमिटरसम्मको माइलेज दिन्छ।