टाटा मोटर्सले डार्क एडिशनमा सफारी सार्वजनिक गरेको छ। कम्पनीले सोमबार भारतीय बजारको लागि नयाँ सफारी सार्वजनिक गरेको हो।
नयाँ डार्क एडिशन सफारीमा २.० लिटर, चार-सिलिन्डर टर्बो डिजेल इन्जिन जडित छ। जसले अधिकतम १७० एचपी पावर र ३५० एमएम टर्क जेनेरेट गर्छ। यो ६ स्पीड म्यानुअल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटिक गिअर बक्स गरी दुई ट्रान्समिसन विकल्पमा उपलब्ध छ।
नयाँ डार्क एडिशनको बाहिरी र भित्री रंग पुरै कालो छ। यो आफ्नो थिम रंग ओबेरोन कालो रंगमा निर्माण गरिएको छ। गाडीको अगाडिको ग्रिल र अलोय ह्विलहरूमा भने चारकोल कालो पाउन सकिन्छ।
यो सफारीमा पुरै भेन्टिलेटेड सिटहरू पाउन सकिन्छ। त्यस्तै, यसमा एयर-प्युरिफायर पनि छ। गाडीमा ८.८ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि छ। जसले एनड्रोइड अटो र एप्पल कार प्ले सपोर्ट गर्छ।
सुरक्षाको लागि गाडीमा एयरब्याग, इएससी, हिल होल्ड असिस्ट, इबिडीसहितको एबिएसलगायत विशेषताहरू छन्।
सफारीको डार्क एडिशन एक्सटी प्लस, एक्सटिए प्लस, एक्सजेड प्लस र एक्जेडए प्लस गरी चार ट्रिममा उपलब्ध छ। कम्पनीले यसको सुरुवाती बजार मूल्य भारु १९ लाख ५ हजार रुपैयाँ तोकेको छ। यो भनेको नेपालमा झन्डै ३० लाख ५० हजार रुपैयाँ हो।
टाटा मोटर्सले यसभन्दा अघि नेक्सन, विद्युतीय नेक्सन, ह्यारिअर र अल्ट्रोज मोडलको पनि डार्क संस्करण सार्वजनिक गरेको थियो।