विद्युतीय दुई पांग्रे सवारी साधन निर्माता कम्पनी हिरो इलेक्ट्रिक र महिन्द्रा ग्रुपबीच बुधबार सम्झौता भएको छ। दुई कम्पनीहरूबीच भारतीय बजारको लागि विद्युतीय सवारी साधन निर्माण गर्नेबारे सम्झौता भएको हो।
हिरो इलेक्ट्रिक र महिन्द्रा ग्रुपबीचको यो रणनीतिक साझेदारी झन्डै भारतीय १५० करोड रुपैयाँको रहेको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ। उक्त सम्झौता पाँच वर्ष अवधिको लागि हुने समेत उल्लेख गरिएको छ।
हिरो इलेक्ट्रिकले सन् २०२२ को अन्तिमसम्ममा १० लाख विद्युतीय सावरी साधन निर्माण गर्ने योजना बनाएको छ। कम्पनीहरू बीचको साझेदारीसँगै अब विद्युतीय दुई पांग्रे सवारी निर्माणमा आवश्यक सामग्रीको आपूर्ति, सवारी उत्पादन र विकास कार्यमा दुवै कम्पनीहरूले संयुक्त रूपमा अघि बढ्नेछ।
सम्झौतापछि महिन्द्रा ग्रुपले हिरोको विद्युतीय ओप्टिमा र एनवाइएक्स मोडलका स्कुटरहरू उत्पादन गर्नेछ।
त्यस्तै, हिरो इलेक्ट्रिकद्वारा सञ्चालित यसको लुधियाना प्लान्टको समेत विस्तार गर्नेबारे दुई कम्पनीहरूबीच सम्झौता भएको छ।
'महिन्द्रा ग्रुपले लामो समयदेखि विद्युतीय सवारी साधनको निर्माण एवम् सार्वजनिक गर्दैछ। कम्पनीसँगको यो साझेदारीले हामीलाई बजार विस्तारमा सहयोग पुर्याउछ भन्नेमा सकारात्मक छौं, ' हिरो इलेक्ट्रिकका प्रबन्ध निर्देशक नवीन मुञ्जालले भनेका छन्।
महिन्द्रा ग्रुपका तर्फबाट अटो एन्ड फार्म क्षेत्रका कार्यकारी निर्देशक राजेश जेजुरिकरले पनि हिरो इलेक्ट्रिकसँगको सम्झौताले कम्पनी र ग्राहक सेवा विस्तारमा जोड दिने बताए।