भारतमा पहिलो पटक ब्याट्रीबाट चल्ने रेन्जर क्रुजर बाइक सार्वजनिक हुँदैछ। नयाँ दिल्लीस्थित विद्युतीय सवारी साधन निर्माता कम्पनी कोमाकीले यही साता बजारमा आफ्नो रेन्जर क्रुजर विद्युतीय बाइक सार्वजनिक गर्ने भएको हो।
यो विद्युतीय क्रुजरमा चार किलोवाट ब्याट्री प्याक छ, जुन भारतीय बजारमा रहेका दुई पांग्रे गाडीमा प्रयोग हुने सबैभन्दा ठूलो ब्याट्री भएको कम्पनीले दाबी गरेको छ। यो ब्याट्री एक पटकको पूरा चार्जमा दुई सय किलोमिटरसम्मकाे माइलेज दिने अनुमान छ।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार यो बाइकमा क्रुज कन्ट्रोल, रिप्यर स्विच, रिभर्स स्विच, ब्लुटुथ र उच्च ब्रेकिङ प्रविधिजस्ता विशेषताहरू छन्।
हालसम्म कम्पनीले यो विद्युतीय क्रुजरको मूल्य तोकेको छैन। तर यसले छिट्टै मूल्य र बाइकबारे थप विशेषता सार्वजनिक गर्ने बताएको छ। हाललाई यसको मूल्य भारतीय एक लाख २० हजार रुपैयाँसम्म पर्ने अनुमान छ।
'बाइकको मूल्य निर्धारण भएको छैन। तर यो बाइक किफायती मूल्यमा उपलब्ध गराउने छौं,' कोमाकी इलेक्ट्रिक डिभिजनका निर्देशक गुञ्जन मल्होत्राले भनेका छन्।
यतिबेला कोमाकीले झन्डै ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मका विद्युतीय स्कुटर एवम् बाइकहरू बिक्री गर्दैछ।