२६ वर्षपछि भारतीय बजारमा येज्दी बाइकको बिक्री पुनः सुरू भएको छ। कम्पनीले सोमबारदेखि यसको डेलिभरी समेत सुरू गरेको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।
महिन्द्रा ग्रुपअन्तर्गतको कम्पनी क्लासिक लेजेन्ड्सले येज्दी बाइक सार्वजनिक गरेको हो। कम्पनीले येज्दी रोडस्टर, स्क्याम्बलर र एड्भेन्चर गरि तीनवटा नयाँ मोडल सार्वजनिक गरेको छ। जावा र बिएसए पछि येज्दी एक मात्र ब्रान्ड हो जुन क्लासिक लेजेन्ड्सअन्तर्गत छ।
यी तीन बाइकमा फरक-फरक पावर र विशेषताहरू छन्। विशेषता फरक भएपनि यी तीनवटै बाइकको इन्जिन र गियरबक्स भने एकै प्लेटफर्ममा आधारित छ। येज्दीको यी बाइकहरूमा ३३४ सिसी सिंगल-सिलिन्डर, लिक्विड कुल्ड, चार स्ट्रोक डिओएचसी इन्जिन जडित छ। त्यस्तै, बाइक ६ स्पीड ट्रान्समिसनमा उपलब्ध छ।
येज्दी एड्भेन्चरले अधिकतम ३०.२ पिएस पावर र २९.९ एनएम टर्क जेनेरेट गर्छ। येज्दी स्क्याम्बलरले भने २९.१ पिएसको पावर र २८.२ एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै, अर्कोतर्फ येज्दी रोडस्टरले २९.७ पिएस पावर र २९ एनएम टर्क जेनेरेट गर्छ। तीन बाइकमध्ये सबैभन्दा बढी एड्भेन्चरको तौल छ। यसको तौल १९९ केजी छ। यसको अगाडि पट्टी २१ इन्च र पछाडि १७ इन्चको ह्विल पाउन सकिन्छ। अगाडि र पछाडि दुवै पांग्रामा डिस्क ब्रेक सुविधा छ।
येज्दी स्क्याम्बलर भने जम्मा १८२ केजीको तौल छ। यसको अगाडि भागमा १९ इन्च र पछाडि १७ इन्चको पांग्रा छ। त्यस्तै, रोडस्टरको भने तौल जम्मा १८४ केजी छ। यसको अगाडि भागमा १८ इन्च र पछाडि भागमा १७ इन्चको ट्युबलेस टायर पाउन सकिन्छ।
भारतीय बजारमा येज्दी एड्भेन्चरको भारतीय सुरुवाती मूल्य २ लाख ९ हजार ९ सय रुपैयाँ तोकिएको छ। येज्दी रोडस्टरको मूल्य भने १ लाख १८ हजार १४२ रुपैयाँ र येज्दी स्क्याम्बलर मूल्य २ लाख ४ हजार ९ सय रुपैयाँ तोकिएको छ।
येज्दीको नयाँ बाइकहरूले हाल बजारमा उपलब्ध रोयल इन्फिल्ड, केटिएम, होन्डालगायत ब्रान्डसँग प्रतिस्पर्धा गर्नेछ।